Skip to main content

जापानको कुमामोटोमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सपिङ मलमा विस्फोटका कारण कम्तीमा ३ जनाको मृत्यु

जापानको कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पले तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। भूकम्पपछि एइअन सपिङ मलमा भएको विस्फोट र विभिन्न भौतिक संरचनाहरू भत्किँदा सडक, रेल र हवाई यातायातमा समेत असर परेको छ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको जानकारी संकलन भइरहेको भन्दै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सुरक्षाका लागि जान निर्देशन दिएका छन्।

१३ साउन, काठमाडौं। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको भूकम्पपछि सपिङ मलमा विस्फोट र संरचनाहरूको भत्किनुले कम्तीमा तीन जनाको मृत्यु भएको छ। अन्य दर्जनौँ घाइते भएका छन्। कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारी अनुसार भूकम्पपछि एइअन मलमा विस्फोट भएपछि रातभर उद्धार अभियान जारी रहँदा आठ जनालाई जीवित उद्धार गरिएको छ। उद्धारको क्रममा २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु पुष्टि भएको छ भने एक व्यक्ति कार्डियोपल्मोनरी अरेस्टमा भेटिएका छन्। अन्य पाँच जनाको घाइते भएपनि अवस्था गम्भीर नभएको बताइएको छ।

जापानको आगो नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार कार्य जारी राखेका थिए। भवनभित्रबाट सहयोगका लागि आह्वान भएका स्थानहरूलाई केन्द्र बनाएर खोज र उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको र केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध, आगलागी, सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन्।

भूकम्पपछि करिब तीन लाख जनालाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ। क्युसु क्षेत्रमा निरन्तर परकम्प आइरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भवनको बाहिरी भाग भत्किँदा फलामका संरचनाहरू बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष फैलिएको दृश्य सार्वजनिक भएका छन्। मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ। विस्फोटको कारण अझै पुष्टि नभए पनि सम्भावित ग्यास चुहावटलाई अनुसन्धानको केन्द्र बनाइएको छ।

घटनास्थल नजिकैका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तो वातावरण बनेको बताएका छन्। यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन्। दुई अस्पतालमा ५० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। भूकम्पका बेला सञ्चालित तीव्र गतिका रेलका केही यात्रु पनि घाइते भएका छन्।

भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका र आगलागीका घटना भएका छन्। केन्द्रबिन्दु नजिकैको सहरमा भवन भत्कँदा एक जनाको मृत्यु भएको स्थानीय मिडियाले बताएका छन्। मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ। रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द र अन्यत्र मोडिएका छन्।

विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन्। टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नरहेको र क्रमशः उत्पादन पुनः सञ्चालनमा आएको जनाएको छ। टोकियो इलेक्ट्रोनले कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ भने होन्डाले मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको छ।

भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ। प्रभावित क्षेत्रमा आगामी एक सातासम्म परकम्प आउन सक्ने र पहिरो जोखिम उच्च भएकाले सतर्क रहन अनुरोध गरिएको छ। क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। तर, कुनै आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानी आणविक नियमन प्राधिकरणले जानकारी दिएको छ।

कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो र हजारौं भवनहरू क्षतिग्रस्त भएका थिए। यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।