
नेपाली फुटबलरहरूको नयाँ गन्तव्य: भुटानी लिग
नेपालमा घरेलु फुटबल गतिविधि ठप्प भएपछि नेपाली खेलाडीहरूले भुटानको फुटबल लिगमा व्यावसायिक अवसर खोज्न थालेका छन्। रश्मी कुमारी घिसिङ र गीता राना लगायत धेरै नेपाली महिला खेलाडीहरू अहिले भुटानी क्लबबाट नियमित रूपमा लिग खेलिरहेका छन्। नेपाली डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर एरिक विष्ट आगामी सिजनका लागि बंगलादेशको फोर्टिस एफसी लिमिटेडमा अनुबन्धित भएका छन्। १५ साउन, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) फिफा द्वारा निलम्बित भएकाले नेपालको फुटबल गतिविधि हाल ठप्प अवस्थामा छ। यसअघि पनि लामो समयदेखि शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग हुन सकेको थिएन। गत वर्ष एन्फाले सुरु गरेको राष्ट्रिय लिग पनि पर्यटन भिसामा रहेका विदेशी खेलाडी खेलाएपछि स्थगित भएको थियो।
नेपालमा घरेलु फुटबल शून्य बनेपछि खेलाडीदेखि रेफ्री र प्रशिक्षकहरू सबै बेरोजगार भएका छन्। तर केही नेपाली खेलाडीहरूले भुटानको लिगमा खेलिरहेका छन्। भुटानको फुटबलमा प्रगतिपछि नेपाली खेलाडीहरूको गन्तव्य विगत केही वर्षयता भुटान भएको छ। भुटानी लिगमा पुरुष खेलाडीको तुलनामा महिला खेलाडीको संख्या बढी छ। नेपाली राष्ट्रिय टिमका रश्मी कुमारी घिसिङ र गीता राना भर्खरै ट्रान्सपोर्ट युनाइटेड लेडिज टिममा अनुबन्ध भएका छन्। यसअघि दीपा शाही, समिक्षा घिमिरे, अनिता केसी, र मिना देउबा ट्रान्सपोर्ट युनाइटेडबाट भुटानको महिला राष्ट्रिय लिगमा खेलिरहेका छन्।
भुटानको लिग ठूलो स्तरमा चर्चित नहुँदा पनि त्यहाँ नियमित रूपमा लिग सञ्चालन भइरहेको छ। स्थानीय तथा विदेशी खेलाडीहरू त्यहाँ गएर सहभागी हुन्। एकै टिममा धेरै विदेशी खेलाडीलाई अनुमति दिइने भएकाले नेपाली खेलाडीहरूले पनि भुटानमा अवसर पाएका छन्। भाषा, संस्कृति र भौगोलिक निकटताका कारण भुटान नेपाली खेलाडीका लागि सहज गन्तव्य बनेको छ। फुटबल खेल्नुका साथै आर्थिक रूपमा पनि आम्दानी हुने भएकाले यो नेपाली खेलाडीहरूका लागि राम्रो अवसर सावित भएको छ।