Skip to main content

नेपालको पहिलो ऐतिहासिक खेलकुद प्रदर्शनी ‘बियोन्ट दी मेडल्स’ सुरु

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालकै पहिलो ऐतिहासिक खेलकुद प्रदर्शनी ‘बियोन्ट दी मेडल्स’ मङ्गलबारदेखि सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदर्शनीको उद्घाटन गर्दै सरकारले संग्रहालयलाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सोन्सी श्रेष्ठले आफ्ना मातापिताको सपना पुरा गर्न र खेलकुदको इतिहास संरक्षण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी मंगलबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको हो। ‘बियोन्ट दी मेडल्स: प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ नामक प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुभयो। स्व. क्षितिज अरुण श्रेष्ठले सन् १९९४ मा नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो।

अध्यक्ष सोन्सी श्रेष्ठले आफना पिता स्व. क्षितिज अरुण श्रेष्ठ र माता स्व. मन्जु तुलाधरको सम्झनामा खेलकुद प्रदर्शनी आयोजना गरिएको र यसमा आफूलाई गर्व लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो बुबाले ३३ वर्षअघि सुरु गर्नुभएको नेपाल ओलम्पिक संग्रहालयलाई विस्तार गर्ने र यसलाई अझ व्यवस्थित बनाउने योजना छ। यो हाम्रो खेलकुदको अमूल्य इतिहास हो। मेरो लक्ष्य बुबा आमाको सपना पूरा गर्नु हो।”

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास समेटिएको संग्रहालयलाई अझ व्यवस्थित बनाउने र त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता तथा जितिएका पदकहरु लगायतका ऐतिहासिक क्षणहरू समेटिएका छन्।