
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले भदौ २१ देखि असोज ५ सम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोड शो युरोप-२०२६’ आयोजना गर्न लागेको छ। यस कार्यक्रममा नेपाली आईटी कम्पनीहरूलाई युरोपका लगानीकर्ता र प्रविधि समुदायसँग जोड्ने र नेपाललाई विश्वसनीय साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नास-आईटीका अध्यक्ष गौरव पाण्डेले भने, “यो रोड शोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्नेछ।” यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा यस्ता रोड शो गरिएका थिए।
रोड शोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म बेलायतमा हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लण्डन हिथ्रोमा साँझ ५ बजेबाट सुरु हुनेछ। दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा आयोजना हुनेछ, जहाँ मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्यूरिखस्थित होटल सेन्ट गोठार्डमा साँझ ५ बजे हुनेछ।
कार्यक्रममा नास-आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरूले आफ्ना सेवा र प्रविधिहरू प्रस्तुत गर्नेछन्। वर्तमानमा नेपालको आईटी उद्योग तीव्र गतिमा विकास हुँदैछ, जहाँ १ लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन्।






