Skip to main content

मन्त्री पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद जारी राख्दै

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताएका छन्। मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको छलफलमा भने, “अब हुन लागेको साफ च्याम्पियनसिप फुटबलमा कुनै समस्या नहोस् भनेर तयारी गरिरहेका छौं।” उनले सरकारले खेलाडीहरूको लागि १० करोड रुपैयाँ नगद पुरस्कार घोषणा गरेको र एसियन गेम्समा जाने खेलाडीका लागि अतिरिक्त खर्चको व्यवस्था समेत गरेको जानकारी दिएका छन्।

मन्त्री पोखरेलले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको उल्लेख गर्दै भने, “बाहिरबाट हेर्दा सरकारले केही गरेको छैन जस्तो लाग्न सक्छ, तर म मन्त्रीको हैसियतले निरन्तर संवाद गरिरहेको छु र हामी एउटा मार्गमा अघि बढिरहेका छौं।” उनले एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझ्ने व्यक्ति हुनु आवश्यक रहेको पनि व्यक्त गरे।

मन्त्री पोखरेलले अघिल्लो सरकारले गर्न ढिलाइ गरेको काम छोटो समयमा पूरा गरेको दाबी गर्दै भने, “हामी आएको चार महिना भयो, हामीले खेलाडीहरूलाई १० करोड रुपैयाँको नगद पुरस्कार घोषणा गरेका छौं। वर्षौंसम्म नगरेको काम हामीले चार महिनामै गर्न सफल भएका छौं। खेलाडीहरू यसबाट खुशी छन्।” उनले एसियन गेम्समा जाने खेलाडीहरूका लागि केही अतिरिक्त खर्च पनि उपलब्ध गराएर पठाउने व्यवस्था गरिएको जानकारी दिए।