Skip to main content

नेपालका शरणार्थीहरू: तराई क्षेत्रमा साम्प्रदायिक तनावसँगै ‘थप निगरानी’

हालका वर्षहरूमा रोहिन्ज्यासहित विभिन्न देशहरूबाट आएका शरणार्थीहरू नेपालका सहरी इलाकाहरूमा बस्दै आएको भन्दै अधिकारीहरूले त्यही अनुसार सुरक्षा रणनीतिहरू अपनाइएको बताएका छन्। केही साताअघि नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीले रोहिन्ज्या, पाकिस्तानी र सोमालियाली शरणार्थीका कतिपय गतिविधिहरूले ‘सुरक्षा संवेदनशीलता’ उत्पन्न गर्ने संभावनाबारे धारणा व्यक्त गरेका थिए। अघिल्लो साता तराईका केही जिल्लामा साम्प्रदायिक तनाव देखिएपछि तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रणका लागि सुरक्षा निकायलाई सतर्क हुन निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ताले बताएका छन्।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायको पछिल्लो तथ्यांक अनुसार नेपालमा झण्डै डेढ दर्जनभन्दा बढी देशका शरणार्थी तथा विस्थापितहरू बसिरहेका छन्। विशेष गरी १२,५०० भन्दा बढी तिब्बती शरणार्थी र ६,३०० भन्दा बढी भुटानी शरणार्थीहरू गरी झन्डै २०,००० शरणार्थीहरू नेपालमा बसोबास गर्दैछन्। प्रहरी प्रमुख कार्कीले एक संसदीय समितिसमक्ष दिएको अभिव्यक्तिपछि मुख्यतः रोहिन्ज्या र पाकिस्तानी शरणार्थीहरूको नेपाल प्रवेशलाई लिएर विभिन्न पक्षहरूले आरोप-प्रत्यारोप गरेका छन्।

सुनसरी लगायतका जिल्लामा अघिल्लो हप्तामा साम्प्रदायिक तनाव देखा परेपछि तराई क्षेत्रका सीमा नाकाहरूमा अवैध घुसपैठ नियन्त्रणका लागि निगरानी कडा बनाइएको अधिकारीहरूले जनाएका छन्। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, “सुनसरीलगायतका जिल्लामा घटनाहरू भइसकेपछि घुसपैठ हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै हामीले सुरक्षा समितिलाई कडाइ गर्न निर्देशन दिएका छौं।” उनले अवैध घुसपैठ तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कडा जाँच गरिए पनि ‘चेकजाँचका क्रममा कुनै शरणार्थी भेटिएको छैन’ उल्लेख गरे।