
नेपालमा मनसुन सक्रिय भएसँगै बढेको ओसिलोपनाले डेंगु, मलेरिया र विभिन्न संक्रमणको जोखिम बढाएको हुँदा घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। बाथरुम, भान्साको सिंक, पानी जम्मा हुने स्थान र कुनाकाप्चामा हुने चिस्यानले ब्याक्टेरिया तथा ढुसी बढाउने भएकाले तिनलाई नियमित रूपमा सफा राख्नु आवश्यक छ। नेपालमा मनसुन सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। वर्षासँगै घरभित्र ओसिलो, ब्याक्टेरिया, लामखुट्टे र विभिन्न संक्रमणको जोखिम पनि बढ्छ। विशेषगरी लगातार पानी पर्ने, घाम कम लागेको र घरभित्र पर्याप्त हावा नचल्ने अवस्थामा रोग फैलाउने जीवाणुहरू तीव्र गतिमा वृद्धि हुन सक्छन्। वर्षायाममा डेंगु, मलेरिया, फंगल संक्रमण, एलर्जी, श्वासप्रश्वाससम्बन्धी समस्या र पेटका संक्रमणका बिरामीहरू पनि बढ्ने गर्छन्। त्यसैले, व्यक्तिगत सरसफाइसँगै घरका केही विशेष ठाउँहरू नियमित रूपमा सफा राख्नु अत्यन्त आवश्यक हुन्छ।
घर सफा राख्दा रोगको जोखिम मात्र घट्दैन, घरको वातावरण पनि स्वस्थ र ताजा रहन्छ। बाथरुम वर्षायाममा सबैभन्दा बढी चिस्यान हुने स्थान हो। लगातार ओसिलो रहने भएकाले यहाँ ब्याक्टेरिया र ढुसी छिटो फैलिन सक्छ। यसले छालामा संक्रमण, एलर्जी तथा दुर्गन्धको समस्या निम्त्याउन सक्छ। त्यसैले, बाथरुमको भुइँ, टायल, कमोड, बेसिन र ड्रेनेज नियमित रूपमा सफा गर्नुपर्छ। सकेसम्म बाथरुम प्रयोग गरेपछि झ्याल खोल्ने वा एग्जस्ट फ्यान चलाउने बानी बसाल्नुपर्छ, जसले चिस्यान कम गर्न मद्दत गर्छ। भान्साको सिंकमा खाना पकाउँदा वा भाँडा माझ्दा बाँकी रहेका खानेकुराका टुक्रा र पानी जम्मा हुने भएकाले ब्याक्टेरिया छिटो बढ्न सक्छन्। यदि सिंक र ड्रेन नियमित सफा नगरिए दुर्गन्ध फैलिनुका साथै खाना दूषित हुने सम्भावना पनि बढ्छ। हरेक दिन सिंक सफा गर्ने, ड्रेनमा फोहोर थुप्रिन नदिने र समय–समयमा तातो पानी वा सफाइ गर्ने घोल प्रयोग गरेर ड्रेन सफा गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ।
वर्षायाममा घरभित्र वा घरबाहिर सानो मात्रामा पानी जम्दा पनि लामखुट्टेले अण्डा पार्न सक्छन्। विशेषगरी डेंगु फैलाउने एडिस जातका लामखुट्टे सफा पानीमै प्रजनन गर्ने भएकाले यो विषयमा धेरै सतर्क हुनुपर्छ। फूलका गमलाको ट्रे, छतमा रहेका बाल्टिन, टायर, बोतल, ड्रम, कुलर, पानी संकलन हुने भाँडा वा घर वरिपरिका खाल्डाखुल्डीमा पानी जम्न दिनु हुँदैन। सातामा कम्तीमा एकपटक यस्ता सबै स्थान निरीक्षण गरी पानी फाल्ने र सफा गर्ने बानीले डेंगु तथा अन्य लामखुट्टेद्वारा सर्ने रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सक्छ।






