युरोपमा नेपाली टी–१० क्रिकेट प्रतियोगितामा ठूलो पुरस्कार, ब्रान्ड एम्बासडर विनोद भण्डारी

पोर्चुगलमा आयोजना हुने युरोपस्तरीय नेपाली टी–१० क्रिकेट प्रतियोगिताको विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलद्वारा आयोजित उक्त प्रतियोगितामा उपविजेताले २ हजार ५ सय ५५ युरो प्राप्त गर्नेछ। यो पुरस्कार राशि युरोपमै सर्वाधिक ठूलो पुरस्कारको रूपमा चिनिएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर १४ देखि १६ सम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार विजेताले पाउने ५ हजार ५ सय ५५ युरो नेपाली रुपैयाँमा करिब ९ लाख ६५ हजार बराबर हुनेछ। उपविजेताले पाउने २ हजार ५ सय ५५ युरो करिब ४ लाख ४५ हजार रुपैयाँ बराबर हुनेछ। प्रतियोगिताको ब्रान्ड एम्बासडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारी रहेका छन्। भण्डारी लिस्बनमा पुगिसकेका छन् र प्रतियोगिताको प्रचारप्रसार तथा समन्वयमा संलग्न छन्।
एनआरएनए पोर्चुगलले युरोपमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आकर्षित गर्ने र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य पनि राखेको छ। आयोजकका अनुसार प्रतियोगिता क्रिकेटको प्रतिस्पर्धामा मात्र सीमित रहने छैन, यसले युरोपमा रहेका नेपाली युवालाई खेलकुदमार्फत एकताबद्ध गर्ने, आपसी भाइचारा र मित्रता बढाउने उद्देश्य पनि बोकेको छ।
प्रतियोगिताका लागि तयारी तीव्र रूपमा अघि बढिरहेको छ र खेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने तयारी गरिएको छ। एनआरएनए पोर्चुगलका संयोजक विवेक श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको सहयोग आवश्यक रहेको बताएका छन्। आयोजकले युरोपमा नेपाली क्रिकेटको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण सुरुवात हुने विश्वास व्यक्त गरेका छन्।






