Skip to main content

अश्लील सामग्री हेर्ने लतबाट मुक्त भएका ओलम्पिक खेलाडी

भूतपूर्व ब्रिटिश ओलम्पिक डाइभर फ्रेडी वुडवर्डले किशोरावस्थामै आफूले ‘पोर्न’ अर्थात् अश्लील सामग्री हेर्ने लतमा परेको महसुस गरेका थिए। “अध्ययन गर्ने प्रयास गर्दा पनि म ती वेबसाइटहरू खोल्ने चाहना अनुभव गर्थें,” उनले बताए। उनको भनाइ अनुसार, १२ वर्षको उमेरदेखि उनी नियमित रूपमा अश्लील सामग्री पाइने वेबसाइट हेर्न थालेका थिए। व्यावसायिक जीवन सुरु गरेर ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने बेलासम्म पनि उनले दिनमै धेरै पटक वयस्क सामग्री हेर्ने गर्थे। अहिले ३० वर्षका यी ओलम्पिक खेलाडीले आफूमा भएको परिवर्तनका कारण अन्ततः यस बानीबाट छुटकारा पाएको बताएका छन्। “यदि तपाईंले यस बानी छोड्ने प्रयास गर्नुभयो भने सम्भव छ। तपाईंले आफूलाई पोर्न नहेर्ने व्यक्तिका रुपमा आफ्नो पहिचान बनाउनुपर्ने हुन्छ। यसका लागि निकै प्रयास आवश्यक पर्छ,” उनले भने।

अश्लील सामग्री हेर्ने बानी नियन्त्रण भन्दा बाहिर गएको कसरी थाहा हुन्छ र यसका बिरुद्ध कसरी सामना गर्ने? “धेरै मानिसलाई पोर्नसँग सम्बन्धित समस्या रहेको हामीलाई थाहा छ,” यौन तथा सम्बन्धका विशेषज्ञ मनोचिकित्सक सिल्भा नेभेस भन्छिन्। आफ्नो निजी क्लिनिकमा यस्ता समस्या भएका व्यक्ति आउने क्रम बढेको उनको अनुभव छ। विज्ञहरू यसलाई लागुऔषधजस्तो ‘लत’ हो कि होइन भन्ने विषयमा एकमत छैनन्। अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका अनुसन्धानकर्ता क्याम्प्बेल इन्सका अनुसार अधिकांश डाक्टरहरू मानिसहरूले आवश्यक भन्दा धेरै पोर्न हेर्ने कुरामा सहमत छन्, तर यसको स्पष्ट लक्षण र उपचार सम्बन्धि परिभाषा छैन।

केही विज्ञहरुले यसलाई विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको ‘कम्पलसिभ सेक्सुअल बिहेभियर डिसअर्डर’ को रूपमा हेर्छन्। यौन र पोर्न लत छुट्याउने एक केन्द्रमा कार्यरत साइकोथेरपिस्ट डा. पाउला हलका अनुसार, व्यक्तिको यौन व्यवहारमा नियन्त्रण नभएको महसुस हुनु र निरन्तर नियन्त्रण प्रयास गर्दा पनि असफल हुँदा तनाव बढ्न सक्छ। नेभेसले भन्छिन् कि ‘कति पटक वा कति लामो समय हेर्नुहुन्छ’ भन्दा, यो बानीले तपाईंको जीवनमा कस्तो हानि पुर्याइरहेको छ भन्ने कुराले यसको प्रभावलाई देखाउँछ।