
गएको एक सातामा नेपालमा सबैभन्दा ठूलो विपद्को रुपमा देखा परेको पहिरोले कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। साउन ३१ गतेसम्मको पछिल्लो एक सातामा १३२ वटा ठूला पहिरोका घटनाहरूले यस्तो क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो साता परेको बर्खे विपद्का घटनामा “निकै खराब” स्थिति रहेको उल्लेख गर्दै मुख्यतया रोल्पा र जाजरकोट जिल्लामा धेरै दुखद घटनाहरू घटेका बताइन्। “रोल्पामा मात्र पछिल्लो एक सातामा १७ जना, जाजरकोटमा ४ जना र बाजुरामा १ जनाको मृत्यु पहिरोले गराएको छ,” उनले भनिन्। “त्यहाँ अहिले पनि २०० जनाभन्दा बढी मानिसहरूलाई अन्यत्र अस्थायी आश्रय स्थलमा राखिएको छ।”
आइतबार सिंहदरबारमा बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले प्रभावितहरुलाई कानुनअनुसार तुरुन्त राहत दिन निर्देशन दिएको प्रवक्ता महतले जानकारी गराइन्। “अस्थायी आवास र व्यक्तिगत आवास निर्माणका लागि आवश्यक काम पनि छिटो अगाडि बढाउन सम्बन्धित निकायहरूसँग निर्देशन दिइएको छ।” जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले खासगरी पश्चिमी पहाडी क्षेत्रमा मङ्गलबारसम्म भारी र अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्। पश्चिम नेपालमा बढी वर्षा मौसम अधिकारीहरूले बागमती प्रदेशदेखि पश्चिमतर्फ वर्षा निरन्तर र बढ्दो क्रममा रहेको बताएका छन्।
विभागका मौसमविद् डेभिड ढकालले भने: “आइतबार रातिदेखि सोमवारसम्म पश्चिम नेपालमा उल्लेख्य वर्षाको सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशमा सामान्यभन्दा बढी वर्षा हुने देखिएको छ।” उनका अनुसार देशव्यापी वर्षा भइरहँदा पनि कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशमा अझै वर्षा न्यून छ। न्यून चापीय रेखा नेपालको नजिकै रहँदा मध्यदेखि पश्चिम नेपालमा वर्षाको गतिविधि उच्च रहेको छ। यस वर्ष मनसुन सरदर मितिभन्दा करिब एक हप्ता ढिलो गरी जुन १९ मा सुरु भएको थियो। मौसमविद् ढकालका अनुसार नेपालमा मनसुनको समयमा करिब १,५०० मिमी पानी पर्छ। मूल्याङ्कन गर्ने २० वटा मापन केन्द्रहरूको तथ्यांक अनुसार अगस्ट १४ सम्म करिब ५३ प्रतिशत मात्र वर्षा भएको देखिएको छ।






