Skip to main content

नेपालको मोबाइल लेजेन्ड्स र पब्जी टोली साउदीमा ईस्पोर्ट्स नेशन्स कप खेल्न तयार

नेपालले आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेशन्स कप २०२६ मा सहभागिता जनाउने भएको छ। नेपाली टोलीले मोबाइल लेजेन्ड्स: ब्याङ ब्याङ र पब्जी मोबाइल गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन्। मोबाइल लेजेन्ड्समा नेपालले छनोट चरण पार गर्दै प्रतियोगितामा स्थान बनाएको छ भने पब्जी मोबाइलतर्फ आयोजकले नेपाललाई सिधै आमन्त्रण गरेको छ।

मोबाइल लेजेन्ड्स टोलीमा रहेका खेलाडीहरू आयुष भण्डारी (मासाराप), विकास तामाङ (बोबे), आयुष राई (यहिको), अभिषेक वाइबा (गनीगन) र धनराज कक्षपति (लक) रहेका छन्। एमएलबीबीतर्फ प्रतियोगितामा विश्वका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस विधाको कुल पुरस्कार राशि १५ लाख अमेरिकी डलर रहेको छ। पब्जी मोबाइलतर्फ नेपालको टोलीले आमन्त्रणको आधारमा सहभागिता जनाउनेछ। यससँगै नेपालले ईएनसीको दोस्रो संस्करणमा एमएलबीबी र पब्जी मोबाइल दुवै विधामा प्रतिनिधित्व गर्ने भएको छ। साउदी अरेबियाको राजधानी रियादमा हुने प्रतियोगितामा विश्वभरका विभिन्न देशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्।