
रसुवा जिल्लामा बुधबार बिहान अचानक आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ र बाढीको तह “गत वर्षभन्दा पाँच गुना” बढी रहेको अधिकारीहरूले बताएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। “बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई पनि सुरक्षित स्थानमा सार्न निरन्तर सूचना प्रवाह गरिरहेको छ,” सचिवालयको विज्ञप्तिमा भनिएको छ। सरकारले बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक र मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ। “अहिले नदीको तटीय क्षेत्रमा सुरक्षाकर्मीहरूले माइकिङ गरी मानिसहरूलाई सुरक्षित रहन आग्रह गरिरहेका छन्,” चितवनस्थित संवाददाता ईश्वर जोशीले बताए।
प्रधानमन्त्रीको सचिवालय र गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कमान्ड सेन्टर स्थापना गरिएको छ र अहिले उत्पन्न घटनाबारे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप छलफल हुने तयारी भइरहेको छ। “ठूलो क्षति भएको बताइएको छ। मुग्लिङसम्म उद्धार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। हामी त्यसको लागि काम गरिरहेका छौँ। हाल क्षतिको पूर्ण आकलन गर्न भने सम्भव भएको छैन,” गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए।
यसपालि पनि बाढी नेपाली भूभागबाट नभई तिब्बततिर उत्पन्न भएको अनुमान गरिएको छ, तर विस्तृत विवरण प्राप्त हुन बाँकी छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने, “धुन्चेबाट नै हामी नदी देख्न सक्छौँ। सामान्य अवस्थामा त्यस्तो हुँदैनथ्यो। भोटेकोशी, लेन्देबाट जुडेको त्यो नदी धुन्चे कटेपछि त्रिशूली बन्ने गर्दछ। त्रिशूलिको बाँध त्यही झल्किन्छ।”
उनका अनुसार बाढीले नदीको तटवर्ती क्षेत्रहरू धेरै प्रभावित भएका छन्। “यो माथिल्लो क्षेत्रमा टिमुरेबाट सुरु भएको हो। पारि (तिब्बत)बाट आएको बताइएको छ। अचानक सूचना आयो। त्यसैले कहाँबाट कसरी आएको हो भन्ने पुष्टि भइसकेको छैन। टिमुरेमा ठूलो क्षति पुगेको छ।”
“स्याफ्रुबेँसीमा पनि क्षति भएको कुरा छ, तर कति हो भन्ने थाहा छैन। त्यहाँ नजिकै चिलिमे पुल थियो, त्यो पनि सुरक्षित छ कि छैन भन्न सकिने अवस्था छैन। हाम्रो टोली त्यहाँ पुगेको छ।” हेलिकप्टर अवतरण गर्न सक्ने ठाउँ नहुनाले नेपाली सेनाले एउटा हेलिकप्टरबाट मात्र प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेको उनले बताए।
“रसुवागढी हाइड्रोको ड्याम तलसम्म बाँकी छैन। हामीले यहाँबाट उपलब्ध सुरक्षा निकायलाई परिचालन गरिरहेका छौँ। हेलिप्याड राख्ने ठाउँ नभएकाले माथिबाट नै निरीक्षण भइरहेको छ।” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाका तीन वटा हेलिकप्टर औषधि र उद्धारकर्ताहरूको टोली लिएर प्रभावित क्षेत्रमा परिचालित भएको बताए।
प्रधानमन्त्रीको सचिवालयको प्रतिक्रियाप्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सरोकारवाला संस्थाहरूले आफ्ना संयन्त्र परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्य तीव्र पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। “जिल्लामा रहेको विपद् प्राधिकरणले सक्रियता देखाइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन लगायत पीडितको उद्धार र खोज कार्यमा गहिरो संलग्न छन्। साथै नेपाली सेनाले पनि उद्धार र खोज कार्यलाई अगाडि बढाएको छ,” विज्ञप्तिमा उल्लिखित छ।
सचिवालयका अनुसार अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ।
सरकारी निकायहरूले रसुवा, नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदी किनारका स्थानहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले त्यसका लागि छुट्टाछुट्टै सूचना जारी गरिसकेका छन्। “यो अवस्था अझै विकास हुन सक्छ। अफवाहको सट्टा आधिकारिक सूचनामा विश्वास गरौं, र एकअर्कालाई सचेत गराऔं। आवश्यक परे तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराऔं,” सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक संजालमा लेखेका छन्।
नेपाली सेनाका अनुसार बिहान ९ बजे टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रहरू र नदी तटीय क्षेत्रमा क्षति पुगेको पुष्टि भएको छ। “खोज र उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगेका छन् भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन एमआई-१७ हेलिकप्टर सहितको आपत्कालीन मेडिकल उद्धार टोली परिचालन भइसकेको छ,” सेनाले जनाएको छ।
सेनाकाअनुसार धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रको लागि खटिएको छ भने गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट पनि विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ।






