
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच विद्यालयस्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य सम्झौता सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रमअन्तर्गत एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विद्यालयस्तरमा क्लाइम्बिङ खेलको प्रवर्द्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) अन्तर्गतका प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
अध्यक्ष विनोद श्रेष्ठले भने, यो सम्झौता केवल औपचारिक हस्ताक्षर नभई विद्यालय तहदेखि क्लाइम्बिङलाई व्यवस्थित रूपमा विकास गर्ने महत्वपूर्ण सुरुवात हो। उनले यस खेलमार्फत नेपालको साहसिक खेल र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले नेपालमा क्लाइम्बिङको सम्भावना व्यापक रहेको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न एनएसएसएफसँगको सहकार्य महत्वपूर्ण हुने बताए। एनएसएसएफका महासचिव राजकुमार कार्कीले ग्रासरुट तहमा सञ्चालन भइरहेका क्लाइम्बिङ गतिविधिलाई पहिचान गरी भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यो सहकार्यले टेवा पुग्ने बताए।






