Skip to main content

नेपाल टप एन्ड टी-२० सिरिजमा तेस्रो हार, सेमिफाइनलबाट बाहिरियो

किङ्समेनसँग ३१ रनले पराजित भएपछि नेपाल टप एन्ड टी-२० सिरिजको सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएको छ। बिहीबार भएको खेलमा किङ्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १६६ रनमा अलआउट भयो। कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए तापनि यो जितका लागि अपर्याप्त रह्यो। लोकेश बम र अनिल साहले समान ११ रन जोडे। बिपिन खत्रीले १० रन बनाएका थिए। किङ्समेनका लागि स्कट कुगेलेइन र उसामा मिरले समान ३-३ विकेट लिए। अली शेखले २ विकेट लिए भने उमेर खान र हमाद आजमले १-१ विकेट लिए।

किङ्समेनले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो। किङ्समेनका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाए। शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५ र तयाब आरिफले २२ रन बनाए। नेपालका लागि नारायण जोशीले २ विकेट लिएका थिए भने राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १-१ विकेट लिए। नेपालले यसअघि चार खेल खेलेर २ जित र २ हारको सन्तुलित नतिजा निकालिसकेको छ। अहिले एक खेल बाँकी छ। अन्तिम खेलमा नेपाल जिते पनि कुल अंक ६ मा सीमित हुनेछ र शीर्ष ४ टोलीले कम्तिमा ८ अंक बनाउने परिदृश्य बनिसकेको छ।