Skip to main content

भोटेकोशी-त्रिशुली बाढी: हराइरहेका व्यक्तिहरू र पर्यटकहरूको संख्या

लीफ होलिडेज प्रालिको व्यवस्थापनमा रहेको तिब्बतको कैलाश मानसरोवर यात्रामा गएको ५५ जनाको टोली बुधबार बिहानसम्म काठमाडौंस्थित कार्यालयसँग सम्पर्कमा थियो। उनीहरू अघिल्लो दिन साँझ नेपाल-चीन सीमामा पुगेका थिए र बिहानै उठेर अध्यागमनको लाइनमा बसेका थिए। “नेपालको अध्यागमन बिहान ७ बजे खुल्छ र उताको भने ९ बजे,” कम्पनीका प्रबन्ध निर्देशक गोपाल थापाले भने, “उक्त टोलीमा मेरो साहिँलो भाइ पनि थियो। मेरो अन्तिम सम्पर्कमा उनीहरू नेपालको अध्यागमन पार गरी पारिपट्टि लाइनमा बसेका थिए।” “त्यसपछि कसैसँग सम्पर्क भएन।” आफ्ना भाइ र सेवाग्राहीहरूको खोजीमा थापा बुधबार अपराह्न हेलिकप्टर लिएर सो क्षेत्र पुगे। “तर त्यहाँको दृश्य देखेर मन मर्न पुग्यो। केही आशा देखिएन।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीनको सङ्ख्या ९७७ रहेको जनाएको छ। “त्यसमा स्थानीय बासिन्दा, पर्यटक र सुरक्षाकर्मीहरू पनि छन्,” प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्। सम्पर्कविहीनको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको छ। अहिलेसम्म सम्पर्कविहीन सूचीमा व्यवस्थित रूपमा उक्त क्षेत्रमा पठाइएका पर्यटकहरूको सङ्ख्या धेरै देखिए पनि कालान्तरमा स्थानीय बासिन्दाहरू नै सर्वाधिक संख्या हुनसक्ने सो क्षेत्र भ्रमण गरेका व्यक्तिहरूले बताए। “अहिलेको सम्पर्कविहीनहरूको आँकडाले सो क्षेत्रको वास्तविक स्थिति देखाउँदैन। यसले बाढीबाट प्रभावित भएका स्थानीयको ठूलो सहभागितालाई समेटिरहेको छैन,” बुधबार नै रसुवाको उपल्लो भेगको बाढी प्रभावित क्षेत्रमा पुगेका ट्रेकिङ असोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले भने।

अघिल्लो वर्ष आएको बाढीपछि प्रभावित क्षेत्रमा पर्यटकीय र आर्थिक गतिविधिमा पुनः संकट परेको छ। विशेषज्ञहरूले यो बताएका छन्। रसुवामा गत वर्ष असार महिनामा आएको ठूलो बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएको थियो। त्यतिबेला लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएको अध्ययनहरूले देखाएका छन्। “हालै मात्र खुल्न थालेपछि यहाँ पर्यटकहरू सक्रिय हुन थालेका थिए र धेरैले कैलाश मानसरोवरतर्फ यात्रा थाल्नुभएको थियो,” लीफ होलिडेजका थापाले भने।

सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सम्पर्कविहीनमध्ये ठूलो हिस्सा पर्यटकहरूको छ। धुन्चे भएर तिब्बतको मानसरोवर, गोसाइँकुण्ड र लाङटाङ जाने पर्यटकहरूको संख्यामा वृद्धि हुन्छ। साउन सकिएसँगै वर्षा रोकिएको अनुमानमा धेरै पर्यटक त्यसतर्फ लागेका छन्। साथै, जनैपूर्णिमाको छेको पारेर गोसाइँकुण्ड जानेहरूको संख्या पनि प्रशस्त हुन्छ। “तर लाङटाङ र गोसाइँकुण्ड जानेहरूको र उक्त यात्रामा प्रभावितहरूको संख्या हाम्रोसँग उपलब्ध छैन। संस्थागत रूपमा टूर अपरेटरमार्फत् मानसरोवरतर्फ गइरहेका र आइरहेकाहरूको बिहीबार अपराह्नसम्मको तथ्याङ्क अनुसार ६६८ जना सम्पर्कविहीन छन्, जसमा नेपालीको संख्या १२७ छ,” नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत ऐरले जानकारी दिए।