नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मधेशबीच प्रतिस्पर्धा

१४ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । आयोजक केडिया ग्रुपले आइतबार लिगको खेल तालिका सार्वजनिक गरेको छ । लिगको पहिलो खेल भदौ १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुनेछ, जहाँ पहिलो दिन दुई खेलहरु आयोजना गरिने छन् । पहिलो दिनको दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच हुनेछ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सो लिगमा कुल १७ खेल आयोजना गरिने छन् । लिग चरणका खेलहरु सिंगल राउन्ड रोबिन आधारमा खेलिने छन् । लिग चरणमा १५ खेल हुनेछ । लिग चरण पश्चात शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहेको टोलीहरूबीच प्लेअफ खेल हुनेछ । प्लेअफको विजेताले फाइनल प्रवेश गर्नेछ ।






