केल्मी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्यो

केल्मी नेपालले रसुवा बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। कम्पनीले रसुवा र नुवाकोटमा १ देखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गर्ने क्लोथ बैंक संचालन गर्ने घोषणा पनि गरेको छ। बाढीले त्रिशूलीस्थित केल्मी सोरुमलाई क्षति पुर्याएपछि कम्पनीले विदुर वा वरिपरि नयाँ शोरुम खोल्ने तयारी गरिरहेको छ।
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार, संस्थाले बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित व्यक्तिलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। बाढीले नुवाकोटको त्रिशूलीमा रहेको केल्मी सोरुम पूर्ण रूपमा नष्ट भएपछि कम्पनीले विदुर वा आसपास नयाँ सोरुम विस्तार गर्ने तयारीमा रहेको बताएका छन्।
सो अवसरमा न्यौपानेले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा नयाँ कपडा उपलब्ध गराउने क्लोथ बैंक सञ्चालन गर्ने बताए। कम्पनीका अनुसार, राहत सामग्री प्रत्यक्ष वितरण गरिने छैन। सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारहरूको आधिकारिक सूचीलाई आधार बनाई क्लोथ बैंकमार्फत पूर्ण निःशुल्क कपडा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ। पीडितसम्म सहयोग पुग्न सरकारी सूचीलाई प्राथमिकता दिइने छ। केल्मी नेपालले विगतमा विभिन्न प्राकृतिक विपत्तिहरू र कठिन परिस्थितिहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग कार्यक्रम संचालन गर्दै आएको पनि जनाइएको छ।






