
समाचार अनुसार, करण केसीले ४ विकेट लिएपछि नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीत हासिल गरेको छ। १०४ रनको बराबरी नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो, अर्जुन कुमालले अविजित ४५ रन बनाए। नेपालले पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो र अब आइतबार साउदी अरेबियासँग भिड्नेछ। १८ भदौ, काठमाडौं।
बलिङमा करण केसी र ब्याटिङमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनले मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित पाएको हो। बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पाण्डेले २० र दीपेन्द्रसिंह ऐरिले अविजित १२ रन बनाएका थिए।
पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओवरमा १०३ रनमा अलआउट भयो। मलेसियाका कप्तान सायद अजिजले सर्वाधिक ३० रन बनाउँदा अकिल वाहिदले २४ रन बनाए। विरानदीप सिंहले १४ र मुहम्मद स्याहदात राम्लीले १३ रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरिले १-१ विकेट लिए। नेपालले पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो। अब नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।






