Skip to main content

रसुवा बाढी: हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै ‘ठूलो अपरेशन’

भोटेकोशीमा अचानक आएको बाढीले तल्लोतटीय भेगमा एकपछि अर्को विनाश सिर्जना गर्दा गत साताको बुधवार बिहानै काठमाण्डूबाट नेपाली सेनाको हेलिकप्टर उडिसकेको थियो। रसुवा विपद्को एक साता पुगेकै दिन बुधवार सदनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले घटनालगत्तै १० भदौको बिहान ९:४५ मै पहिलो उद्धार उडानका रूपमा नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको बताए। बाढीको मार खेपेका क्षेत्रमा उत्पन्न अन्योलबीच जताततै हाहाकार र चित्कार छाइरहँदा सरकारलाई बाढीले पुर्‍याएको “क्षतिको स्पष्ट आकार सुरुमा हेलिकप्टरबाटै थाहा भएको” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउँछन्।

“पहिलो दिन तुरुन्तै हाम्रा चार वटा हेलिकप्टर उडे। एउटा एमआई १७ ले २० जना चिकित्सक टोली बोकेर गएर ११:३० मा मेडिकल बेस नै तयार गरेको थियो,” प्रवक्ता बस्नेतले भने। “हवाई बेस नै खडा गरेर त्यति सानो एअर स्पेसमा यति ठूलो उद्धार यसअघि नेपालमा भएको थिएन।” मङ्गलवार एक पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री सुधन गुरुङले त्यसलाई व्यापक आकारको ‘अपरेशन’ बताउँदै त्यो “सम्भवतः नेपालको हालसम्मकै सबैभन्दा ठूलो” हुनुपर्ने भनेका छन्। यसबीचका एक सातामा सेना र निजी क्षेत्रका हेलिकप्टरका सयौँ उडानमार्फत् चार हजारभन्दा धेरैको हवाई उद्धार भएको बताइएको छ। यसबीचमा सेनाले आफ्नो कमान्डमा मात्रै ७१७ उडानहरू गरेको जनाएको छ।

अवस्था भयावह, तर हेलिकप्टरले दिएको आशा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको दिन मध्याह्न नहुँदै धेरैतिर स्थल बाटो “पूर्ण विच्छेद” भइसकेको थियो। “त्यसपछि सबैलाई हेलिकप्टरको मात्रै आशा थियो। केही वैकल्पिक सडक खोल्ने कामबाहेक अझै पनि जताततै अवरोध उस्तै नै छ,” परियारले भने। “सुरुको दिन त धेरैतिर हेलिकप्टर टेक्न मिल्ने अवस्था पनि थिएन। तर पनि धेरैलाई त्यसले आशा दिलायो। अलपत्र परिहालिँदैन भन्ने भयो।” उद्धार प्रणालीमा एकद्वार कायम गर्न र द्विविधा नहोस् भनेर नेपाली सेनाको कमान्डमा हेलिकप्टरहरू परिचालन गर्ने निर्णय गरिएको थियो।