Skip to main content

वर्षा मौसममा सेता स्नीकर्सलाई नयाँ जस्तै राख्ने उपायहरू

वर्षा मौसममा सेता स्नीकर्स हिलो र फोहोर पानीले चाँडै बिग्रने भएकाले घर पुग्ने बित्तिकै हल्का सफा गर्नुपर्छ। लेस र सोल छुट्टै सफा गर्ने, वाटरप्रूफ स्प्रे प्रयोग गर्ने र सही तरिकाले भण्डारण गर्ने बानीले स्नीकर्सलाई लामो समय नयाँजस्तै राख्न सकिन्छ। सेता स्नीकर्स आजकल धेरैको वार्डरोबको अनिवार्य हिस्सा बनेका छन्। यी जुत्ताहरू जिन्स, ट्राउजर, ड्रेस र एथलिजर लुकसँग सजिलै मिल्ने हुँदा अत्यन्तै लोकप्रिय छन्। तर वर्षा सुरु भएपछि सेता स्नीकर्स सफा राख्न केही चुनौतीहरू सामना गर्नुपर्छ। हिलो, फोहोर पानी र चिस्यानका कारण जुत्ता छिटै फोहोर देखिन थाल्छ। यद्यपि, केही सजिला बानी अपनाएमा वर्षा मौसममा पनि सेता स्नीकर्सलाई लामो समय नयाँजस्तै राख्न सकिन्छ।

घर पुग्नासाथ हल्का सफा गर्ने यदि स्नीकर्समा हिलो लागेको छ भने त्यसलाई सुक्न नदिई घर पुग्नासाथ नरम ब्रस वा सफा सूखा कपडाले फोहोर हटाउने, त्यसपछि हल्का भिजेको कपडाले जुत्ता पुछ्ने। यसरी गर्दा दाग गहिरो नपर्ने र जुत्ता सफा गर्न सजिलो हुन्छ। हल्का साबुनबाट सफा गर्ने सेता स्नीकर्स सफा गर्दा अत्यधिक कडा रसायनयुक्त क्लिनर प्रयोग गर्नु हुँदैन। मनतातो पानीमा थोरै हल्का लिक्विड साबुन मिसाएर नरम ब्रसको मद्दतले जुत्तालाई बिस्तारै सफा गर्नुपर्छ। यसले रंग र मटेरियल दुवै सुरक्षित राख्न मद्दत गर्दछ।

वर्षा हुँदा भिजेका जुत्ता धेरैजसो मानिसले सिधै चर्को घाममा राखेर सुकाउँछन्। तर यसले सेता स्नीकर्स पहेँलो पर्न सक्ने र मटेरियल बिग्रन सक्ने जोखिम हुन्छ। जुत्ता सुकाउँदा हावा चल्ने छेउमा राख्नुपर्छ। जुत्ता अत्यधिक भिजेको खण्डमा भित्र पत्रिका वा टिस्यु पेपर राखेर भित्री चिस्यान सोस्न र जुत्ताको आकार कायम राख्न सकिन्छ। यदि सेता स्नीकर्स वर्षायाममा पनि नियमित प्रयोग गर्ने भए, उपयुक्त वाटरप्रूफ स्प्रेले जुत्ताको सतहमा सुरक्षात्मक तह बनाउँछ जसले पानी र सामान्य फोहोरलाई प्रवेश गर्नबाट केही हदसम्म रोक्दछ।

ध्यान दिनुपर्ने कुरा वर्षा मौसममा सेता स्नीकर्सलाई चमकदार राख्न, समयमै सफा गर्ने, भिजेपछि सही तरिकाले सुकाउने, आवश्यकता अनुसार वाटरप्रूफ प्रयोग गर्ने र उचित स्थानमा भण्डारण गर्ने बानी बसाल्नु महत्त्वपूर्ण छ। नियमित सानो हेरचाहले जुत्ताको सुन्दरता मात्र होइन यसको दीर्घायु पनि बढाउँछ।