
समाचार सारांश संपादकीय समीक्षा सहित। अस्ट्रेलिया भ्रमणको अन्तिम खेलमा नेपाल ए टोली न्युजिल्यान्ड ए सँग २ विकेटले पराजित भएको छ। नेपालले बनाएको २११ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्यान्डका राइस मारिउले १३७ रन बनाएर जितमा मुख्य योगदान दिए, भने नेपालका पवन सर्राफले सर्वाधिक ६१ रन बनाएका थिए। २१ भदौ, काठमाडौं। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले भ्रमणको अन्तिम खेलमा पनि हार भोग्नुपरेको छ। आइतबार न्युजिल्यान्ड ए सँगको एकदिवसीय खेलमा नेपाल २ विकेटले पराजित भएको छ। नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्यान्डका ओपनर राइस मारिउले उत्कृष्ट शतकीय पारी खेले। उनले १३४ बलमा १३७ रन बनाएर जितका लागि ६ रन आवश्यक छँदा आउट भए। नेपालका लागि रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले समान रूपमा २-२ विकेट लिए भने बिपिन खत्री र पवन सर्राफले १-१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको नेपाल ए टोलीले ५० ओभरमा अलआउट हुँदै २११ रन बनाएको थियो। पवन सर्राफले सर्वाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७ रन जोडे। अनिल साहले २४ र मयन यादवले २० रन बनाए। न्युजिल्यान्डका म्याट फिशरले ९ ओभरमा ३७ रन दिएर ४ विकेट लिए। क्रिस्टन क्लार्क र अदित्या अशोकले २-२ विकेट लिए भने जाक गिब्सन र मोहम्मद अब्बासले १-१ विकेट लिए। न्युजिल्यान्डको टप ए-२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले उक्त सिरिजमा ६ मध्ये २ खेल जितेको थियो। त्यसपछि नेपाल तास्मानिया र साउथ अस्ट्रेलियासँग अभ्यास एकदिवसीय खेलमा पराजित भएको थियो।






