Skip to main content

बाबर हायातको शतकीय पारीमा हङकङले नेपाललाई दिएको २६२ रनको लक्ष्य

बाबर हायातले अविजित ११७ रन बनाउँदै हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको छ। हङकङ एक समय १३३-७ को संकटमा परेको अवस्थामा बाबर हायात र एहसान खानबीच अविजित १२८ रनको साझेदारी भएको छ। नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट चुराए भने शेर मल्लले ३ विकेट लिए।

काठमाडौं, २३ भदौ – बाबर हायातले विलक्षण शतकीय पारी खेलेपछि हङकङले नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट मुकाबिलाई चुनौतीपूर्ण लक्ष्य पस्केको छ। हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको हो। एक समय टोली १३३-७ मा झरेको अवस्थामा बाबर हायातले १२७ बलको सामना गर्दै ७ चौका र ७ छक्काको सहयोगमा ११७ रन बनाएर नटआउट रहने क्रममा एहसान खानसँग मिलेर १२८ रनको मजबुत साझेदारी गरेका थिए। एहसान खान ३४ रनमा नटआउट छन् भने शाहिद वासिफले ४५ रन जोडे।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभर खेल्दै ४४ रन खर्चेर ४ विकेट लिए भने शेर मल्लले पनि १० ओभरमा २७ रन खर्चेर ३ विकेट प्राप्त गरे।