
इरान युद्ध र हर्मुज जलडमरूमध्यमा ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ। महँगो इन्धनले अमेरिकी परिवारको यात्रा योजना घटाएको छ र दैनिक बजेटमा थप आर्थिक दबाब परेको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले पेट्रोलको मूल्य घटाउन सरकारले उपाय गरिरहेको जानकारी दिएका छन्, यद्यपि राहतको स्पष्ट समयसीमा भने सार्वजनिक गरेका छैनन्।
अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनले अमेरिकी परिवारको यात्रा योजना मात्रै नभई दैनिक खर्चमा पनि थप आर्थिक दबाब थपेको छ। नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा लगभग एक डलर बढी हो।
पेट्रोलको मूल्य अत्यधिक बढेसँगै लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्न थालेको देखिएको छ। पेन्सिलभेनियाकी निकोल कोलिन्सले बताइन्, “पेट्रोलको मूल्य निकै उच्च छ। परिवारमा साना छोराछोरी भएकाले उनीहरूको आवश्यकतामा पनि खर्च गर्नुपर्ने भएकाले बढेको इन्धन खर्चले परिवारको बजेटमा अतिरिक्त दबाब सिर्जना गरेको छ।”
अमेरिकाका ऊर्जा सचिव क्रिस राइटले पेट्रोलको मूल्य घटाउन कदम चालिरहेको भए पनि अन्तर्राष्ट्रिय तेल बजारमा युद्धको प्रभाव कायम रहेसम्म मूल्य नियन्त्रणमा चुनौती हुने देखिन्छ। इरान युद्ध र हर्मुज जलडमरूमध्यमा तेल ढुवानीमा आएको अवरोधले आगामी दिनमा पनि अमेरिकी उपभोक्तालाई उच्च इन्धन मूल्यको सामना गर्न सक्ने सम्भावना कायम छ।






