
समाचार संक्षेप समीक्षा गरिसकिएको छ। जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका १२ स्टोर पूर्ण रूपमा जलेर नष्ट भएपछि झन्डै ११ अर्ब रुपैयाँको क्षति भएको छ भाटभटेनीले जनाएको छ। भाटभटेनीले पुनर्निर्माणमा थप २० देखि ३० प्रतिशत खर्च लागेर करिब १४ अर्ब रुपैयाँ पुगेको जनाएको छ। सीओओ पानु पौडेलका अनुसार भाटभटेनीका २७ मध्ये २३ स्टोर सञ्चालनमा छन् र बाँकी दुई असोज र मंसिरसम्म खुल्नेछन्। २३ भदौ, काठमाडौं। व्यवसाय स्थापना गर्न कति मेहनत, लगनशीलता, जोश, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने कुरा व्यवसायी मीनबहादुर गुरुङलाई देखेर सहजै बुझ्न सकिन्छ। लगभग चार दशकअघि २०४१ सालमा गुरुङले एउटा सपना बोकेर काठमाडौं नक्सालमा सानो सटर भाडामा लिएर व्यवसाय सुरु गरेका थिए, जुन कालान्तरमा नेपाली उद्यम क्षेत्रमा एउटा विशिष्ट उदाहरण बन्यो। उनी सुरु गरेका ‘भाटभटेनी डिपार्टमेन्टल स्टोर’ले नेपालमा लगानी, रोजगार र स्वदेशमै केही गर्न सकिन्छ भन्ने दृष्टिकोण स्थापित गरेको थियो। देशभरि रहेका भाटभटेनीका दुई दर्जनभन्दा बढी स्टोरहरूले यसको प्रमाण दिन्छन्। एउटा सानो सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई चार दशकमा देशव्यापी विस्तार गरेर हजारौं रोजगारी सिर्जना गर्न गुरुङले अपार मेहनत गरेका हुन्। उनले सातौं दशकसम्म ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएका थिए, तर गएको वर्ष २३ भदौमा अचानक ठूलो विनाशकारी घटना आयो। त्यो दिन जेनजी प्रदर्शन सुरु भयो, जसले गुरुङको हजारौं युवालाई रोजगारी दिने सपनालाई धक्का पुऱ्यायो। जेनजी आन्दोलन हिंसात्मक बन्दा सरकारी सम्पत्ति, निजी उद्योग-व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भयो। मुख्य लक्ष्यमा भने गुरुङको भाटभटेनी सुपर स्टोरहरू पर्न पुगे। तर गुरुङले हार मान्न मानेनन्। उनी दिनरात श्रमशील भए, हजारौं सहकर्मीहरू साथ दिए, र लाखौं उपभोक्ताले समर्थन गरे। एक वर्षपछि भाटभटेनी पुनः उठ्यो। भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले भने, ‘१० हजारौं कर्मचारी र लाखौं उपभोक्ताको माया, विश्वास र समर्थनका कारण हामीले भाटभटेनी फेरि उठायौं। हामी यसमा गर्व गर्छौं।’






