जोर्डनस्थित अमेरिकी सैन्य शिविरमाथि इरानद्वारा मिसाइल आक्रमण गरेको दाबी

२४ भदौ, काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण गरिएको दाबी गरेका छन्। इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई लक्षित गरेको बताइएको छ। इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित विभिन्न भिडियो फुटेजहरू सार्वजनिक गरेका छन्। तीमध्ये केहीमा ‘इरानी मिसाइलहरूले एयर डिफेन्स प्रणाली तोड्दै सिधै लक्ष्यमा प्रहार गरेको’ देखाइएको छ।
बुधबार बिहान रिभोलुसनरी गार्ड्स कोर्प्सले अमेरिकी युद्धपोतहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी पनि गरेको छ। यसअघि इरानले जोर्डनमा रहेको एक अमेरिकी सैन्य आधार शिविरमाथि मिसाइल प्रहार गरेको थियो। जोर्डनले आफ्नो एयर डिफेन्स प्रणालीले इरानले हानेका २० मध्ये १८ मिसाइलहरू विफल पार्न सफल भएको जनाएको छ। जोर्डनका सशस्त्र बलका एक आधिकारिक प्रवक्ताले इरानबाट जोर्डनतर्फ प्रहार गरिएका दुई मिसाइलहरू बस्ती क्षेत्रभन्दा टाढा खसेको बताएका छन्। अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई निशाना बनाएपछि यी हमला गरिएको इरानको भनाइ छ।






