
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका साथीहरूलाई आफ्नो पक्षमा ल्याउँदै म चाँडै नै देशभरि घुम्न आउँछु,’ देउवाले भने ।
पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट आफूलाई न्याय प्राप्त हुनेमा पूर्ण विश्वास रहेको पनि बताए । ‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जान्छु भन्ने विश्वास दिलाउँदै, यहाँ लाग्नुभएको सबैलाई हार्दिक धन्यवाद दिन्छु र सर्वोच्च अदालतबाट हामीलाई न्याय प्राप्त हुनेछ भन्ने विश्वस्त छु,’ उनले स्पष्ट पारे । विदेशबाट उपचार गराएर स्वदेश फर्किंदा पाएको माया भने आफू मात्र नभइ सबै कांग्रेसका सच्चा कार्यकर्ताहरूले पनि पाएको देउवाले बताए ।
‘म काठमाडौं आउँदा मैले पाएँ भन्ने भन्दा यो माया सबै साथीहरूले पाएका छन्,’ उनले भने, ‘यो माया नेपाली कांग्रेसका सच्चा कार्यकर्ताहरूले पाएका हुन् ।’ देउवाले जनताबाट प्राप्त मायालाई सबैले साझा रूपमा आफूले पाएको माया सम्झेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामी सबैले जनताले दिएको मायालाई आफ्नो माया ठान्दै अगाडि बढ्नुपर्छ,’ उनका भनाइ थिए । साथै देउवाले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त पनि गरे ।





