
प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी बाढी र जलविद्युत् सुरुङमा पुगेको क्षति विश्वमा अत्यन्त असामान्य विपत्ति भएको बताएका छन्। उहाँले करिब ७२ किलोमिटर क्षेत्रमा प्रभाव परेको र साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुलका कारण उद्धारलाई चुनौतीपूर्ण बनाएको उल्लेख गर्नुभएको छ। डिक्सले जीवित नभएका मान्छेहरूको सम्भावना अन्त्य गर्न हतार नलाग्न र उद्धार कार्य निरन्तर जारी राख्नुपर्ने सुझाव दिनुभएको छ साथै डिजाइनमा दोष नठान्न आग्रह गर्नुभएको छ।
२४ भदौ, काठमाडौं। अन्तर्राष्ट्रिय टनेल र भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा पुर्याएको क्षति विश्वमा अत्यन्त असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ। बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन मानिसको खोज तथा उद्धारका लागि प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा उद्धारको पछिल्लो अवस्था बुझाएको थियो। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भोटेकोशी क्षेत्रमा देखिएको विपत्ति र उद्धारमा देखिएका चुनौतीहरू असाधारण रहेको उल्लेख गर्नुभएको छ। ‘यस्तो प्रकारको विपत्ति विश्वमा निकै विरलै देखिएको मेरो अनुभूति हो। सम्भवतः यो पहिलो पटक भएको घटना होला,’ उहाँले भन्नुभयो।






