Skip to main content

ओली र लेखकको रिहाइको माग गर्दै एमाले स्याङ्जाले प्रधानमन्त्रीलाई विरोधपत्र बुझायो

नेकपा एमाले स्याङ्जाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ। एमाले स्याङ्जाले ओली र लेखकको पक्राउलाई असंवैधानिक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै आपत्ति प्रकट गरेको छ। पार्टीले आन्दोलनबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र प्रशासनले लिनुपर्ने उल्लेख गरेको छ। १५ चैत, स्याङ्जा।

नेकपा एमाले स्याङ्जाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध विरोध जनाउँदै प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ। एमाले जिल्ला कमिटी स्याङ्जाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएको हो। उक्त पत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार पठाइएको छ।

एमाले स्याङ्जाले हालै गठन भएका सरकारले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओली र लेखकलाई पक्राउ गरेको घटनालाई असंवैधानिक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै आपत्ति जनाएको छ। पार्टीले यस कदमलाई अलोकतान्त्रिक, प्रतिशोधात्मक र गैरकानुनी आरोप लगाएको छ। पार्टी जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेद्वारा हस्ताक्षरित उक्त पत्रमा आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र प्रशासनले लिनुपर्ने समेत उल्लेख गरिएको छ।