साउदी अरबको ऊर्जा पूर्वाधारमाथि आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि

साउदी अरबको ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द गरिएको छ। यसले तेल आपूर्तिमा बाधा पुर्याउने सम्भावना बढाएको छ। यसै कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। खाडी क्षेत्रको जलयातायात जोखिम घटाउन गरिएको प्रयासमा पनि अनिश्चितता देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले वृद्धि भई १०७.०५ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि १.५३ डलर अर्थात् १.५१ प्रतिशतले बढेर १०२.९२ डलर प्रति ब्यारेल पुगेको छ। अघिल्लो कारोबारमा पनि दुवैको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भईसकेको थियो।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमा नयाँ आक्रमण गरेका छन्। खाडीका अरब राष्ट्रहरूले इरानसँग वार्ता स्थगित गरेको अवस्थामा यसले मध्यपूर्वको द्वन्द्व अझ फैलन सक्ने चिन्ता बढाएको छ। यसले विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने अनुमान गरिएको छ। हुथी समूहले दक्षिणी साउदी अरबको खमिस मुसाइत सैन्य हवाई अड्डामा मिसाइल र ड्रोन आक्रमण गरेको छ। उनीहरूले विमान ह्याङ्गर, राडार प्रणाली, रनवे र हतियार भण्डारलाई लक्षित गरेका छन्। साउदी अरबले यमनमा गरेको हमलाको जवाफमा यो आक्रमण गरिएको बताइएको छ। यसअघि गत शुक्रबार पनि साउदी अरबमा आक्रमण भएको थियो।






