
विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसकेमा सन् २०५० सम्म विश्वको कुल घरेलु उत्पादन (जीडीपी) १० प्रतिशतसम्म घट्न सक्ने चेतावनी दिएको छ। डब्लूटीओले मङ्गलबार सार्वजनिक गरेको ‘विश्व व्यापार प्रतिवेदन २०२६ : विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा उल्लेख छ कि व्यापार नीतिले दशकौंदेखिको गम्भीर र निरन्तर चुनौतीहरू सामना गरिरहेको छ। प्रतिवेदनले विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीहरूको समीक्षा गरेको छ।
“बहुपक्षीय व्यापार प्रणालीले विगत ८० वर्षमा ठूलो लाभ पुर्याएको छ र अझ एकीकृत तथा लचिलो विश्व अर्थतन्त्र निर्माणमा सहयोग गरेको छ,” डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेला भनिन्। उनका अनुसार विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट–फेभर्ड–नेशन’ (सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र) व्यवस्थाअन्तर्गत सञ्चालन हुँदैछ। “विश्वव्यापी व्यापारको परिदृश्यमा उल्लेखनीय परिवर्तन आए पनि, यो प्रणाली स्थापना भएको मूल मर्म – एकपक्षीय रूपमा होइन, सहकार्य गरेर सबै अर्थतन्त्रलाई फाइदा हुने भन्ने मान्यता – आज पनि यथावत् सान्दर्भिक छ,” उनले जोड दिइन्।
डब्लूटीओका सदस्य राष्ट्रहरूले सुधारका विषयमा सक्रिय रूपमा छलफल गरिरहेका छन् र वर्तमान अवस्था कायम राख्नु विकल्प नभएको पनि उनले बताइन्। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्यहरू प्रस्तुत गरेको छ। यदि बलियो बहुपक्षीय प्रणाली कायम रह्यो भने आधारभूत प्रक्षेपणअनुसार सन् २०५० सम्म विश्वको जीडीपी दुई दशमलव नौ प्रतिशत र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू-राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव छ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ। बहुपक्षीय सहकार्यलाई स्वतन्त्र व्यापार सम्झौतासँग प्रतिस्थापन गर्दा भने विश्वको जीडीपी छ दशमलव नौ प्रतिशत र निर्यात २६ दशमलव नौ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ। डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्म अन्तर पर्न सक्नेछ।
प्रतिवेदनका अनुसार आठ दशकभन्दा लामो अवधिमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोधहरू घटाउन, विश्व व्यापारलाई झन्डै ५० गुणाले विस्तार गर्न तथा थप एकीकृत र नियममा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।






