Skip to main content

‘आयोगको प्रतिवेदनमाथि मात्रै भर पर्दै पक्राउ गर्न मिल्दैन’ – संविधानविद् नीलाम्बर आचार्य

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘जेन-जी’ आन्दोलनसँग सम्बन्धित आरोपमा प्रहरीले पक्राउ गरेको छ। संविधानविद् नीलाम्बर आचार्यले आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र एकपक्षीय भन्दै त्यसलाई आधार बनाएर पक्राउ गर्न नहुने बताउनुभएको छ। उहाँले भदौ २४ गतेको घटनामा पनि निष्पक्ष छानबिन हुनुपर्ने र कानुनअनुसार मात्र कारबाही हुनुपर्ने औँल्याउनुभयो।

केपी शर्मा ओली र रमेश लेखकको पक्राउपछि यस प्रक्रियाको न्यायसंगतता र प्रतिशोधात्मकता विषयमा बहस चलिरहेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ र २४ गतेका घटनालाई छुट्याएर पूर्वाग्रही ढंगले तयार गरेको आरोप लागेको छ। आचार्यले भने, “आयोगको प्रतिवेदनमाथि मात्रै पक्राउ गर्न मिल्दैन। सरकारले आफ्ना अनुसन्धान निकायमार्फत अनुसन्धान गर्नुपर्छ।”

उहाँले थप्नुभयो, “जसले ज्यान गुमाउनुभएको छ, त्यो दुखद घटना हो। तर, भदौ २४ गते ज्यान गुमाएका परिवारलाई न्याय नदिइने हो?” आचार्यले भदौ २४ गतेको घटनामा पनि निष्पक्ष छानबिनको आवश्यकता औँल्याउनुभयो। उहाँले भने, “घर जलाउने, मान्छे मार्ने, प्रहरीको पोशाक खोस्ने जस्ता घटनामा उचित कारबाही हुनु पर्छ।”

आचार्यले आयोगको प्रतिवेदनलाई प्रमाण मानेर अदालतमा मुद्दा चलाउन सकिन्न भन्नुहुन्छ। उहाँले भने, “यो त पूर्वाग्रही, एकपक्षीय र एकलकाँटे प्रतिवेदन हो।” उहाँले निष्पक्ष आयोग गठन, निष्पक्ष अनुसन्धान र दोषी प्रमाणित भएमा मात्र कारबाही हुनुपर्नेमा जोड दिनुभयो।