Skip to main content

हुथी समूहले साउदी अरबको एफ-१५ लडाकु विमान खसाएको दावी गरेको छ

यमनको सशस्त्र विद्रोही समूह हुथीले बिहीबार साउदी अरबको एक लडाकु विमान खसाएको दाबी गरेको छ। हुथीले साउदी विमान खसाउन यमनमै निर्माण भएको हतियार प्रयोग गरेको तथ्य पनि प्रस्तुत गरेको छ। हुथी सशस्त्र समूहका प्रवक्ता याह्या सारीले सामाजिक सञ्जालमार्फत बताएका छन्, ‘यमनी सशस्त्र बलले मारिब प्रान्तको हवाई क्षेत्रमा शत्रुतापूर्ण अभियान सञ्चालन गरिरहेको साउदी अरबको एफ-१५ लडाकु विमान खसाउन सफल भएको छ।’ प्रवक्ता सारीले साउदी अरबले लगाएको अर्को आरोपलाई पनि अस्वीकार गरेका छन्। साउदी पक्षले हुथी विद्रोहीहरूले यसै हप्तामा मक्का सहरलाई लक्षित गरेर आक्रमण गरेको आरोप लगाएको थियो। ‘हाम्रा अभियान तेल क्षेत्र र सैन्य अखडालाई लक्षित हुन्छन्’, हुथी प्रवक्ता सारीले स्पष्ट पारेका छन्। जुलाईमा यमनमा गृहयुद्ध पुनः तीव्र बनेपछि हुथी सशस्त्र समूह साउदी अरब समर्थित यमनी सरकारी सेनासँग द्वन्द्वरत अवस्थामा छन्।