
आईसीसी ओडीआई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी पाँच स्थान उक्लिएर १७औँ स्थानमा आएका छन्। एसीसी प्रिमियर लिगमा ओमानविरुद्ध अर्धशतक र ३ विकेट तथा यूएईविरुद्ध १८ रन र १ विकेट लिएर उनको रेटिङ १७१ पुगेको छ।
३१ भदौ, काठमाडौं। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा पाँच स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट अनुसार बुधबार प्रकाशित गरेको नयाँ वरियतामा दीपेन्द्रले पाँच स्थान सुधार गर्दै १७औँ स्थान हासिल गरेका हुन्।
उनको रेटिङ अंक १५९ बाट बढेर १७१ पुगेको छ। गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा गरेको उत्कृष्ट प्रदर्शनले उनको वरियतामा सुधार आएको हो। प्रिमियर कपको सेमिफाइनल ओमानसँग र फाइनल यूएईसँग ओडीआई मान्यताका खेल थिए। दीपेन्द्रले सेमिफाइनलमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका थिए र ३ विकेट लिए। फाइनलमा भने उनले १८ रन बनाए र १ विकेट लिए। साथै, ओडीआई ब्याटिङ वरियतामा पनि दीपेन्द्र १० स्थान उक्लेर ८४औँ स्थानमा रहेका छन्। टी-२०ई अलराउन्डर वरियतामा भने उनी तेस्रो स्थानमै स्थिर छन्।






