नवलपरासीको घाँगी भीरमा निरीह धुवाँ: छ महिनादेखि जारी रहँदा विज्ञ टोलीले के पत्ता लगायो?

पूर्वी नवलपरासीको एक भीरमा छ महिनादेखि निरन्तर देखिएको धुवाँको कारण पत्ता लगाउन गएको विज्ञ टोलीले कोइलायुक्त चट्टान र खनिजसँग सम्बन्धित रासायनिक प्रतिक्रियाले धुवाँ र ताप उत्पादन गरेको सम्भावना औंल्याएको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङले स्थलगत अनुगमनपछि नमुना सङ्कलन गरी चट्टान र पानीको परीक्षणका लागि अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। अध्ययन टोलीले सो क्षेत्रका चट्टानमा कोइलामा पाइने कार्बनयुक्त तत्त्वहरू समेत फेला पारेको बताएका छन्। टोलीका अनुसार हुप्सेकोट गाउँपालिका वडा नं ६ स्थित घाँगी भीर क्षेत्रबाट जमिन मुनिबाट ठूलो मात्रामा धुवाँ निस्किरहेको छ र उक्त स्थानको तापक्रम पनि बढिरहेको छ।
“छेउछाउका रूख र पातपतिङ्गर पनि सहजै जल्नसक्ने अवस्थामा छन्,” भूगर्भविद् लुइँटेलले बताए। “त्यहाँको पानीको गुणस्तरमा पनि परिवर्तन आएर अम्लीय भएको पाइएको छ।” अध्ययन टोलीले सो क्षेत्रका चट्टानमा कोइलाको अवशेष (कार्बनयुक्त चट्टान) भेटिएको जनाएको छ। त्यहाँ ‘पाइराइट’ नामक खनिज पनि हुनसक्ने अनुमान गरिएको छ। “कार्बनयुक्त चट्टान पूरै बल्न सक्दैन। तर सल्किएमा धुँवा निकालीरहन्छ। साथै, पाइराइट खनिज भएमा सल्फर पनि हुन सक्छ जसले अक्सिजन र पानीसँग प्रतिक्रिया जनाउँदा ताप र धुवाँ उत्पन्न गर्न सहयोग गर्छ,” खानी विभागका भूगर्भविद् लुइँटेलले बताए।
स्थानीय बासिन्दाहरूका अनुसार पानी परेपछि धुवाँको मात्रा अझै बढेको छ। “बर्षा सुरु हुनुअघि सानो धुवाँ मात्र देखिन्थ्यो, पानीसँगै ठूलो भयो। पानी जतिसुकै ठूलो पर्दछ, धुवाँ पनि तति नै बढी निस्कन्छ,” स्थानीय फूलमाया रोका विकले जानकारी दिइन्। धुवाँ निस्केको स्थानमा मानिसहरूको भीड बढ्न थालेको छ। लुइँटेलले नजिकजाने जोखिमिलो ग्यास निस्किनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। “नजिक जान नहुने र त्यहाँको पानी प्रयोग नगर्न सल्लाह दिइएको छ। सम्भावित जोखिमबारे प्रतिवेदन समेत तयार पार्नेछौं,” उनले थपे।
धुवाँ देखिएको क्षेत्रको कार्बनयुक्त चट्टानमा सानो मात्रामा कमजलको कोइला हुनसक्ने बताइएको छ। यद्यपि, पेट्रोलियम वा ग्यास खानीको कुनै संकेत प्रारम्भिक निष्कर्षमा देखिएको छैन। “पेट्रोलियम र प्राकृतिक ग्यासको उपस्थिति क्षेत्रमै देखिएको छैन। कार्बनयुक्त चट्टान कमजलको कोइलाजस्तो छ, तर उपभोग वा बिक्रीकै लागि उपयुक्त कोइला होइन,” लुइँटेलले भने।
सो क्षेत्रमा धुवाँ र आगो देखिने भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। कतिपयले सुषुप्त ज्वालामुखीको डर व्यक्त गरेका छन्। खानी विभागका भूगर्भविद् लुइँटेलले त्यहाँ ज्वालामुखीको खतरा नरहेको स्पष्ट पारेका छन्। “यस क्षेत्रको भूगोल ज्वालामुखीको लागि उपयुक्त छैन। अहिले ज्वालामुखीको चिन्ता गर्नु आवश्यक छैन,” उनले जानकारी दिए।
स्थानीय बासिन्दाका अनुसार गत चैतदेखि धुवाँ देखिइरहेको छ र पहिरोले जमिन बगाएपछि धुवाँ निरन्तर बढेको छ। सुरुमा आगो लागेको ठानेर बेवास्ता गरियो, तर बाख्रा चराउन गएका मानिसहरूले चट्टानबाट धुवाँ निस्किरहेको देखेपछि खोजतलास सुरु भएको बताइन्छ। स्थानीय राना विकले बताए अनुसार एक किलोमिटर टाढाको पहाडमा पनि यस्तै धुवाँ देखिएको सुनिएको थियो, तर पछि त्यो क्षेत्रबाट धुवाँ निस्कन छाडेको जानकारी प्राप्त भएको छ।






