पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवन नजिकै विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। यस घटनामा ३० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्ट अनुसार विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन पुरानो प्रहरी लाइनमा ठोक्किएको जानकारी दिएका छन्। विस्फोटपछि सशस्त्र चरमपन्थीहरूबीच गोली हानाहान भइरहेको उनले बताएका छन्।
खैबर पख्तुनख्वाका प्रहरी प्रमुखका अनुसार प्रारम्भिक विवरणअनुसार विस्फोटपछि एक आत्मघाती हमलाकारले स्पेसल ब्रान्च नजिकै आफूलाई विस्फोट गराएको देखिन्छ। सुत्रका अनुसार गोली हानाहानमा एक चरमपन्थी मारिएका छन्। स्थानीय प्रहरीका अनुसार उक्त विस्फोट शुक्रबार स्थानीय समय अनुसार दिउँसो करिब १:१५ बजे भएको हो। घटनास्थलमा उद्धार अभियानका लागि हाल १४ वटा एम्बुलेन्स र ४० भन्दा बढी कर्मचारी परिचालन भएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कोहाट विस्फोटको कडा निन्दा गर्दै ठूलो संख्यामा मानिस घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार शहबाज शरीफले घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले विस्फोटको कारणबारे सम्बन्धित अधिकारीसँग रिपोर्ट माग्नुभएको साथै राहत र उद्धार कार्यलाई तीव्रता दिन र प्रभावितलाई आवश्यक सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्। गृहमन्त्री मोहसिन नक्वीले पनि कोहाट विस्फोटको निन्दा गर्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। पेशावर प्रहरीले जनाएका छन् कि उक्त विस्फोटमा ११ जना सर्वसाधारण र पाँच जना प्रहरी अधिकारीहरूको मृत्यु भएको छ।






