रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान सम्पन्न, ड्रोन र साइबर आक्रमणको बीचमा

युक्रेन युद्ध पाँचौं वर्षमा प्रवेश गरेको अवस्थामा आइतबार रुसमा संसदीय निर्वाचनको तेस्रो र अन्तिम दिन मतदान सम्पन्न भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक युनाइटेड रसिया पार्टीले ४५० सिटमध्ये पुन: बहुमत हासिल गर्ने अपेक्षा राखेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले रूसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको र तीमध्ये करिब ४५० ड्रोन मस्को तर्फ आउँदै गरेको जानकारी दिएका छन्।
रुसमा संसदीय निर्वाचनको तेस्रो र अन्तिम दिन मतदान सम्पन्न भएको छ। राष्ट्रपति पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत पाउने अपेक्षा गरिएको छ। सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी हुँदै आएको छ। निर्वाचन अघि रुसको सर्वोच्च अदालतले युद्धविरोधी ‘याब्लोको’ पार्टीलाई संघीय सूचीबाट चुनावमा सहभागिता गर्न रोक लगाएको थियो।
चुनावमा अन्य प्रमुख दलहरूले पुटिन र युक्रेनमा जारी सैन्य कारबाहीलाई समर्थन गरिरहेका छन्। यद्यपि, ‘याब्लोको’का केहि उम्मेदवार एकल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन्। सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु भएयता यो रुसको पहिलो संसदीय निर्वाचन हो, जसले युद्ध प्रति रूसी जनमतको संकेत दिने आशा गरिएको छ।
पुटिनले रुसका नागरिकलाई मतदानमा सक्रिय सहभागी हुन आग्रह गर्दै यसलाई रुसी सेनाप्रति समर्थन र देशलाई कमजोर बनाउन खोज्नेहरूलाई जवाफको रूपमा प्रस्तुत गरेका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले मतदानको अन्तिम दिन सुरु हुनु अघि रूसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको जानकारी दिएका छन्। उनले यो आक्रमण निर्वाचनमा अवरोध पुर्याउने उद्देश्यले गरिएको बताएका छन्। रुसको तल्लो सदन ‘स्टेट डुमा’का ४५० सिटका लागि मतदान आइतबार साँझ १८ GMT सम्म जारी रहनेछ।






