अल्टिच्युड एयर हेलिकोप्टर दुर्घटना प्रतिवेदन: ‘ह्वाइट आउट’ अवस्थाको पुष्टि

समाचार संक्षेप १२ कात्तिक २०८२ मा सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर ‘९एन–एएमएस’ लाई ‘ह्वाइट आउट’ अवस्था परेको पुष्टि भएको छ। प्रतिवेदनले अवतरणका बेला ह्वाइट आउट र हेलिप्याडमा ताजा हिउँले दृश्यता कम भएको कारण दुर्घटना भएको उल्लेख गरेको छ। सरकारले गठन गरेको समितिले उडान नियमन, जोखिम मूल्यांकन र हेलिप्याडमा स्पष्ट मार्कर राख्न सुझाव दिएको छ। १५ चैत, काठमाडौं। १२ कात्तिक २०८२ मा सोलुखुम्बुको लोबुचेमा भएको अल्टिच्युड एयरको ‘९एन–एएमएस’ दर्ता नम्बरको हेलिकोप्टर ‘ह्वाइट आउट’ अवस्थामै रहेको पुष्टि भएको छ। दुर्घटनापछि सरकारले गठन गरेको समितिले गरेको जाँचको अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।
प्रतिवेदन अनुसार हेलिकोप्टर अवतरणका बेला ह्वाइट आउट अवस्था सिर्जना भएको थियो। लोबुचेमा अवतरण गर्दा हेलिप्याड ताजा हिउँले ढाकिएको र त्यसले दृश्यतामा प्रभाव परेको उल्लेख छ। पाइलटले अवतरणको समयमा हेलिकोप्टर असन्तुलित भएको अनुभव गरेका थिए। यस क्रममा मुख्य रोटर भुइँसँग ठोक्किँदा हेलिकोप्टर पल्टिएको थियो। प्रतिवेदनमा भनिएको छ कि दुर्घटनामा मानवीय क्षति नभए पनि हेलिकोप्टरमा गम्भीर क्षति पुगेको थियो।
हेलिकोप्टर चार्टर उडानका क्रममा लोबुचे पुगेको थियो र उक्त दिन यो हेलिकोप्टरको छैटौं उडान थियो। प्राविधिक कारणले कुनै समस्या देखिएको छैन।
प्रतिवेदनले लुक्लामा पर्याप्त जिम्मेवार अधिकारीहरूको अभावमा उक्त भेगमा हुने उडानको प्रभावकारी नियमन र जोखिम मूल्यांकनमा प्रश्न उठाएको छ। पाइलटले ताजा हिउँले ढाकिएको हेलिप्याडमा दृश्यता कम रहेपनि अवतरणलाई निरन्तरता दिनुले दुर्घटना निम्त्याएको प्रतिवेदनले उल्लेख गरेको छ। ह्वाइट आउट अवस्थामा पाइलटले असन्तुलित हेलिकोप्टरलाई थप सुधार गर्न नसक्दा पल्टिएको हो।
उडानका क्रममा लोबुचेमा ग्राउन्ड स्टाफ नहुँदा पाइलटलाई सहयोग गर्न नसकेको देखिएको छ। यसलाई सम्बोधन गर्न सबै हेलिकोप्टर अपरेटरले व्यस्त समयमा सब–बेसहरूमा अनिवार्य कर्मचारी राख्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ। साथै, उडान अघि पाइलटहरूलाई अवतरण स्थलको अवस्थाबारे र मौसमबारे विस्तृत जानकारी राख्न पनि सुझाव दिएको छ।
दुर्गम क्षेत्र र उद्धार उडानका लागि पूर्वउडान जोखिम मूल्यांकन तयार गर्न प्रतिवेदनले सिफारिस गरेको छ। साथै, लोबुचे जस्ता उच्च हिमाली क्षेत्रका हेलिप्याडहरूमा स्पष्ट र स्तरीय मार्कर राख्नुपर्ने सल्लाह पनि दिइएको छ। उच्च हिमाली क्षेत्रका उडान सम्बन्धी निर्देशिका बनाउन समेत सुझाव छ।
सोही दिन हेलिकोप्टर क्याप्टेन विवेक खड्का उक्त उडानका क्रममा मात्रै सवार थिए। लुक्लाबाट बिहान ७:४१ बजे उडेको हेलिकोप्टर ७:५२ मा लोबुचेमा पुगेको थियो।






