
२०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट आज जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तान–जापान र हङकङ–मलेसिया खेलहरूबाट सुरु भएको छ। नेपालको पहिलो खेल भोलि शुक्रवार बिहान पौने ११ बजे अफगानिस्तानसँग हुनेछ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ, र कम्तीमा एक खेल जिते क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। ८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटका खेलहरू आजदेखि सुरु भएका छन्। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुँदै गरेको पुरुष क्रिकेटमा आज दुई खेल हुनेछन्। पहिलो खेल समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजेदेखि अफगानिस्तान र जापानबीच हुनेछ। दोस्रो खेल पौने ११ बजेदेखि समूह ‘बी’ मा रहेका हङकङ र मलेसियाबीच हुनेछ। प्रतियोगितामा नेपालको खेल भने भोलि, शुक्रवार तय गरिएको छ। नेपाल र अफगानिस्तानबीचको खेल शुक्रवार बिहान पौने ११ बजेदेखि सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग छ। समूहमा तीन टोली भएकाले नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना प्रबल रहने छ। क्वाटरफाइनलमा पुगेपछि नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भएको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो।






