Skip to main content

भोटेकोशी-त्रिशूली बाढी प्रभावित गाउँहरूमा कनेक्टिभिटीको अवस्था

भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक क्षेत्रमा पुगेको क्षतिका कारण अवरुद्ध भएका ठाउँहरूमा आगामी दुई साताभित्र कम्तीमा ‘सिङ्गल लेन’ ट्र्याक खोल्ने काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्म करिब ४० किलोमिटर बाटोमा सडक विभाग, पूर्वाधार विकास मन्त्रालय र नुवाकोटको सडक डिभिजन कार्यालयले ट्र्याक खोल्न कार्यरत रहेको मन्त्रालयले जनाएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवा जिल्लाका चार वटा गाउँपालिका पूर्ण रूपमा प्रभावित छन्। नेपाल-चीन सीमा हुँदै बहने ल्हेन्दे खोला हुँदै रसुवा जिल्ला प्रवेश गर्ने भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका गोसाईंकुण्ड, आमाछोदिङमो, कालिका र उत्तरगया गाउँपालिका पूर्ण रूपमा प्रभावित भएको अधिकारीहरूले बताएका छन्। यी चार गाउँपालिकाका रसुवागढी, घट्टे खोला, टिमुरे, तातोपानी, लिङलिङ, मेदाङपुदु, रुँगा, स्याफ्रुवेशी, सानो भार्खुको केही भाग, हाकुवेशीको केही भाग, गुम्चेत, मैलुङ, सल्लेटार, सिम्लेपुछार, पहिरेवेशी, खाल्टे, नौबिसे, कैदलेटार, बेत्रावतीलगायतका २० वटा गाउँ तथा क्षेत्र पूर्ण रूपमा प्रभावित छन्।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार बाढीपछि कयौँ दिनसम्म बिजुली तथा सञ्चार सुविधा नहुँदा राहत पनि पाउन नसकेको गुनासो गरिएको छ। गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ तामाङले सुरुवाती एक हप्तासम्म गाउँपालिकाका अधिकांश स्थानमा बिजुली र सञ्चार सेवा पूर्ण रूपमा कटौती भएको र अहिले आंशिक रूपमा सहज भएको बताए। उनले भने, “सडक सञ्जाल सम्बन्धी कार्य भने अझै पनि प्रगति हुन सकेको छैन।” पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार दशैँअघि गल्छीदेखि रसुवागढीसम्मको बाटो कम्तीमा एकतर्फी सवारीसाधन चल्ने गरी खोल्नका लागि प्रयास भइरहेको छ।