Skip to main content

पाकिस्तानका इफ्तिखार अहमद जनकपुर बोल्ट्ससँग एनपीएल खेल्न तयार

पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्स टोलीसँग आबद्ध भएका छन्। जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो।

इफ्तिखार दायाँ हातका ब्याट्सम्यान हुन् र उनले अफस्पिन बलिङ पनि गर्नसक्ने क्षमता राख्छन्। उनले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन्। कुल टी–२० क्रिकेटमा उनले ३२९ खेलमा ६ हजार १९६ रन बनाएका छन् र ९७ विकेट पनि लिएका छन्।

इफ्तिखारले पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग (एलपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता महत्वपूर्ण फ्रेन्चाइज प्रतिस्पर्धामा समेत खेलिसकेका छन्। नेपालका समर्थकहरूले इफ्तिखारलाई २०२३ को एसिया कपमा नेपालविरुद्ध प्रहार गरेको शतकका कारण चिन्दछन्, जहाँ उनले पाकिस्तानलाई ठूलो स्कोरसम्म पुर्याएका थिए।