Skip to main content

पाकिस्तानी सेनाले अफगानिस्तानका १० स्थानमा हवाई आक्रमण गर्यो

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण र सञ्चालन भइरहेको थियो। पाकिस्तानले आक्रमण गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन। यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन नष्ट गरेको दाबी गरेको थियो।

तालिबान सरकारको रक्षा मन्त्रालयका प्रवक्ता सिद्दीकुल्लाह नुसरतले बुधबार बीबीसीसँग कुरा गर्दै पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै आक्रमण नभएको दाबी गरेका छन्। ‘पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै आक्रमण भएको छैन। अफगान वायुसेनाले अहिलेसम्म कुनै ड्रोन आक्रमण गरेको छैन,’ उनले भनेका छन्, ‘जवाफी कारबाहीको समय र स्वरूप अफगान वायुसेनाले नै निर्धारण गर्नेछ।’

अफगानिस्तानको टोलो न्युजले खोस्तका गभर्नरका प्रवक्ता मुस्तगफुर गुरबुजलाई उद्धृत गर्दै पाकिस्तानले बिहान करिब ३:३० बजेतिर आक्रमण गरेको जनाएको छ। उनका अनुसार गुरबुज जिल्लाको क्याम्प गुल्लन क्षेत्रका साथै इस्माइल खेल र मन्दोजी जिल्लाका केही क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको थियो। उनले ती आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका छन्। तालिबान सरकारले भने आक्रमण भएका स्थानहरूको स्पष्ट विवरण सार्वजनिक गरेको छैन। यद्यपि एएफपी समाचार एजेन्सीका तस्बिरहरू गेटी इमेजेसमार्फत सार्वजनिक भएका छन्। ती तस्बिरमा कान्दाहारमा हवाई आक्रमणपछिको आगोको लप्का र धुवाँको मुस्लो उठिरहेको देखिन्छ।