भारी वर्षाको सम्भावना ‘लगभग समाप्त’, राति परेको वर्षाले केही नदीहरूमा जोखिम

नेपालमा बिहीबारदेखि निरन्तर भइरहेको वर्षा क्रम आइतबारबाट अन्त्य हुने मौसमविद्हरूले जनाएका छन्। मौसमविद् विनोद पोखरेलले आइतबार दिउँसोसम्म केही स्थानमा पानी पर्ने भए पनि भारी वर्षाको सम्भावना “लगभग समाप्त” भएको बताए। यद्यपि, शनिबार राति र आइतबार बिहानसम्म परेको वर्षाका कारण ठूलो नदीहरूमा प्रभाव परेकोले अझै सतर्क रहन आवश्यक रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीले उल्लेख गरे। हाल देशका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही मुख्य नदीहरूमा जल सतह खतराको तहमा पुगेको छ। मौसमविद् सन्जिव अधिकारीले शनिबार राति र आइतबार बिहानसम्म वर्षा निम्त्याएको मौसमी प्रणाली कमजोर हुँदै गएको बताउनुभयो। “गएको राति र अहिले [आइतबार] बिहानसम्म जुन प्रणालीले वर्षा गराएको हो, त्यो कमजोर हुँदै गएको छ र दिउँसोपछि अझ कमजोर हुनेछ,” उहाँले भन्नुभयो।
अहिले अमेरिकामा रहेको मौसमविद् विनोद पोखरेलले पनि अब ठूलो वर्षा नहुने देखिएको जानकारी दिनुभएको छ। “आइतबार दिउँसोसम्म केही ठाउँमा पानी पर्ने भए पनि भारी वर्षाको सम्भावना लगभग समाप्त छ,” उहाँले भन्नुभयो। मौसमविद् अधिकारीले पनि सुधार सोमवारदेखि हुने र “भोलिदेखि धेरै ठाउँमा घाम लाग्ने” पूर्वानुमान रहेको बताउनुभयो।
महाशाखाले आइतबार बिहान पौने ८ बजे जारी गरेको बुलेटिन अनुसार नारायणी नदीको जल सतह खतराको तह (९ मिटर) भन्दा माथि करिब ११ मिटर पुगेको र अझ बढिरहेको छ। चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका तलैया तथा सम्भावित बाढी डुबान क्षेत्रहरूमा बाढी र डुबानको उच्च जोखिम रहेको छ। महाशाखाले कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बूढीगण्डकी र त्रिशूली नदीहरू साथै तिनका शाखा खोलाहरूमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।






