
जेनजी पुस्ताले फोन कललाई तनाव र अवरोधको रूपमा अनुभव गर्दै टेक्स्ट म्यासेजलाई प्राथमिकता दिँदै आएका छन्। प्रविधिको यो युगमा हुर्किएका उनीहरूको सञ्चार शैली फरक छ। उनीहरू प्रायः साथीभाइसँग ठेगाना सोध्नु होस् वा खाना अर्डर गर्न फोन कल गर्ने सट्टा टेक्स्ट म्यासेज पठाउन सहज महसुस गर्छन्। कतिपयले यसलाई अल्छीपनाको रूपमा हेरे पनि विशेषज्ञहरूले यसलाई टेलिफोबिया, अर्थात् फोन कलसँग सम्बन्धित मानसिक तनावको एक रूप भनेर व्याख्या गरेका छन्।
बेलायतमा गरिएको एक अध्ययनमा करिब ५६ प्रतिशत जेनजी उमेरका सहभागीहरूले फोन कलको जवाफ दिन मन नपराउने बताएका थिए। अचानक आउने फोनको घण्टी उनीहरूको लागि तनावको कारण बन्ने उनीहरूको भनाइ छ। कतिपय अवस्थामा त आफ्ना अभिभावकलाई समेत फोन नगर्न आग्रह गर्ने गरेका छन्। यसको कारण उनीहरू च्याट, सोसल मिडिया डिएम र मिमहरूमा बढी अभ्यस्त हुनु हो।
सञ्चार विज्ञहरूको अनुसार, टेक्स्ट म्यासेजले प्रयोगकर्तालाई फोन कलको तुलनामा बढी सुरक्षा दिन्छ। उदाहरणको रूपमा, टेक्स्टमा पठाइएका कुराहरू पटक-पटक सच्याउन, हिज्जे जाँच गर्न सकिन्छ। कुनै प्रश्नको उत्तर दिनु अघि खोजी गर्न वा विचार गर्न समय टेक्स्टमा पाइन्छ। फोन कल भने तत्काल र बिना पूर्व विचारका हुन्छन्, टेक्स्टमा यस्तो हुँदैन। टेक्स्ट म्यासेजका यी विशेषताहरूका कारण जेनजीहरूले फोन कललाई टाढा राख्न थालेको बताइन्छ।
त्यस्तै, धेरैजसो युवाहरू फोन कललाई कुनै जरुरी काम वा नराम्रो खबरको संकेतको रूपमा लिने गरेका छन्। उनीहरूको लागि बिना सूचना आउने फोन कल भनेको बाधा मात्र हुन्छ। यस प्रवृत्तिले कार्यस्थल र सामाजिक सम्बन्धमा असर पुर्याइरहेको छ। किनभने फोन कललाई पूर्ण रूपमा बेवास्ता गर्दा सक्रिय रूपमा सुन्ने बानी, संवाद गर्ने क्षमता र अरूको भावना बुझेर तुरुन्त प्रतिक्रिया दिने जस्ता व्यक्तिगत कौशलहरूमा प्रभाव पर्न सक्छ। यसकारण यस समस्याको समाधानका लागि बेलायत जस्ता देशहरूमा कार्यशालाहरू आयोजना गरिने भएको छ। त्यहाँ बालबालिकालाई फोन कलप्रति डर हटाउन सिकाइन्छ। किनभने सञ्चार केवल शब्दहरूको आदानप्रदान मात्र होइन, मानवीय सम्बन्धको जडान पनि हो।






