
१३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको प्रस्तोता (होस्ट) मा यशा सागरलाई चयन गरिएको छ। एनपीएलले आफ्नो सामाजिक सञ्जालमार्फत यशालाई तेस्रो सिजनको होस्टको रूपमा सार्वजनिक गरेको छ। ‘नेपाल, तयार हुनुहोस्’ भन्ने नारा सहित यशाको आगमनको जानकारी दिइएको छ।
क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागरले सन् २०१७ मा पञ्जाबी संगीत क्षेत्रमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनले पञ्जाबी, हिन्दी र तेलुगु भाषामा ३० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। भारतको पञ्जाबमा जन्मिएकी यशाले भारतमै स्नातक तहको अध्ययन पूरा गरेपछि थप अध्ययनका लागि सन् २०१५ को डिसेम्बरमा क्यानडा पुगेकी थिइन्।
यशाले एनपीएलका समर्थक र नेपालको अनुभवलाई लिएर आफू निकै उत्साहित रहेको बताइन्। उनले नेपाली समर्थकहरूको क्रिकेटप्रतिको उत्साहबारे धेरै सुनेकी र उनीहरूसँग भेटघाट गर्न, नेपाली खाना र संस्कृति अनुभव गर्न उत्साहित रहेको जानकारी दिइन्। एनपीएलको अघिल्लो सिजनमा जेस क्रोए होस्टका रूपमा थिइन्। तर तेस्रो सिजनका लागि एनपीएलले यशालाई होस्टको रूपमा घोषणा गरेको हो। एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुनेछ।






