Skip to main content

लाओसविरुद्ध जीतलाई लक्ष्य बनाउँदै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले लाओसविरुद्ध जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने प्रतिबद्धता जनाएका छन्। नेपालका कप्तान किरण चेम्जोङले पनि जीत निकाल्नुलाई प्रमुख उद्देश्य भएको बताएका छन्। नेपाल र लाओसबीचको एएफसी एसियन कप छनोट अन्तर्गत खेल स्थानीय समय अनुसार साँझ ७ बजे शुरु हुनेछ।

एरेनाले मंगलबार हुने आफ्नो अन्तिम खेलको प्रि-म्याच कन्फेरेन्समा भने, ‘युवा र अनुभवी खेलाडीहरूको सन्तुलनसहित लाओस पुगेका छौं। मेरो लक्ष्य युवा खेलाडीहरूको क्षमता परीक्षण गर्नु हो। त्यसैले मैले ५ नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा मौका दिएको छु। लाओस एक राम्रो टोली हो। तर हामी भोलिको खेलका लागि तयारी अवस्थामा छौं। जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछौं।’ एरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा समावेश गरेका छन्।

कप्तान चेम्जोङले भने, ‘मैदानमा उत्रिएपछि जीत नै प्रमुख लक्ष्य हुनेछ। राम्रो तयारी छ। हामी कोचको रणनीतिअनुसार प्रदर्शन गर्नेछौं।’ नेपाल र लाओसबीचको खेल स्थानीय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ। समूह एफमा रहेको नेपाल र लाओस दुवै एसियन कप छनोटबाट बाहिरिसकेका छन्। दुवैले ५ खेलबाट समान ३ अंक जम्मा गरेका छन्। यसअघि लाओसमा भएको पहिलो खेलमा नेपाल लाओससँग २-१ ले पराजित भएको थियो। हालसम्म नेपाल र लाओसबीच ६ खेल भइसकेका छन्। जसमा नेपालले चार खेल जितेको छ भने लाओसले एक खेल जितेको छ र एक खेल बराबरीमा सकिएको छ।