रेड बुल एनपीएल प्रसारणको मुख्य प्रायोजक, हिमालय स्पोर्ट्समा सम्झौता सम्पन्न

‘ब्रोडकास्ट स्पोन्सर साइनिङ’ कार्यक्रममा हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले यस सहकार्यले ब्राण्डहरूलाई उपभोक्तासामु पुग्ने सुयोग्य साझेदारी तयार भएको बताए। १४ असोज, काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणका लागि रेड बुल मुख्य प्रायोजक बनेको छ। हिमालय स्पोर्ट्सले बुधबार एक कार्यक्रममा रेड बुललाई ‘टाइटल स्पोन्सर’ को रूपमा सार्वजनिक गरेको छ। बजाज पल्सर, प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स, प्रोटोन, एसियन पेन्ट्स, सोयुम र हिमस्टार ‘स्पोन्सर’को रूपमा समावेश छन्। एसोसिएसन पार्टनरको रूपमा बजाज पल्सरलाई राख्दै ‘पावर्ड बाइ’ प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स र प्रोटोन रहेका छन्। सहप्रायोजकको रूपमा एसियन पेन्ट्स, सोयुम र हिमस्टार छन्।
‘ब्रोडकास्ट स्पोन्सर साइनिङ’ कार्यक्रममा हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले यो सहकार्यले ब्राण्डहरूलाई उपभोक्तासामु पुग्ने सशक्त साझेदारी सिर्जना गरेको बताए। ‘खेलकुद इभेन्टमार्फत विज्ञापनको समय मात्र बेचिरहेका छैनौं, ब्राण्डहरुलाई उपभोक्तासँग जोड्ने अर्थपूर्ण साझेदारी थप गरेका छौं’ उनले भने। एनपीएल प्रसारणलाई चुनौतीपूर्ण जिम्मेवारी र अवसर दुवैका रूपमा लिएको भुसालले बताए, ‘खेलकुद क्षेत्रमा गरिएको लगानी आकस्मिक होइन। यो हाम्रो दीर्घकालीन व्यवसायिक योजनाको रणनीतिक हिस्सा हो।’
रेड बुल नेपालबाट सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हिमालय टेलिभिजनसँग टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा खुशी व्यक्त गरे। उनले रेड बुल एनपीएललाई सुरुवातदेखि नै समर्थन गर्दै आएको बताए। ‘खेलकुद र ऊर्जा नै रेड बुलको मूल मन्त्र हो। हामी खेलकुदमा धेरै लगानी क्रिकेटमै गर्छौं’ उनले भने, ‘एनपीएलको सुरुवातदेखि नै दीर्घकालीन प्रतिबद्धताका साथ रेड बुलले सहकार्य गर्दै आएको हो।’ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली खेलकुद र क्रिकेट विस्तारै स्मार्ट हुँदै गइरहेको बताएका छन्। ‘केही समयदेखि नेपाली क्रिकेटलाई कर्पोरेट क्षेत्रले देखाएको समर्थन प्रशंसायोग्य छ। हामीलाई आशा छ कि यो समर्थन सम्पूर्ण खेलकुदमा फैलिन्छ’ उनले भने।
हिमालय स्पोर्ट्सले एनपीएलको तेस्रो संस्करणको प्रसारण अधिकारका लागि करसहित झण्डै १७ करोड २४ लाख रुपैयाँको कीर्तिमान रकम तिरेर अधिकार हासिल गरेको थियो। यो नेपाली खेलकुद प्रसारणमा अहिलेसम्मकै ठूलो लगानीमध्ये एक हो। हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बजारको अवस्था मूल्यांकन गरी लगानी गरिएको बताए। हिमालयन स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले भने कि एनपीएलमा खेल मात्र नभई फ्यानलाई खेलाडीहरूसँग जोड्ने योजना छ। ‘हाम्रो काम खेल देखाउनु मात्र होइन, खेललाई अझ नजिक ल्याउनु हो। राम्रो कथा सुनाउनु हो। खेलाडीलाई फ्यानसँग जोड्नु हो। विदेशमा रहेका नेपालीलाई थोरै समय भए पनि आफ्नो घरको नजिक महसुस गराउनु हो,’ उनले भने।
तस्बिरहरू: चन्द्रबहादुर आले






