Skip to main content

‘मेरो अभिभावक एफबीआईको फरार सूचीमा थिए, मेरो बाल्यकाल यस्तो बित्यो’

“म बच्चै हुँदा उनीहरूले मलाई क्रान्तिकारी शिक्षा दिएका थिए…. उनीहरूले मलाई सादा पोसाकका प्रहरी र एफबीआईका एजेन्टलाई भिडमा कसरी चिन्ने सिकाए… उनीहरूले मलाई फोनमा गुप्त भाषामा कसरी कुराकानी गर्ने पनि सिकाए… मेरो लागि त्यो खेलजस्तै थियो।” जेड आयर्स डोरनको बाल्यकाल अरूको जस्तो थिएन।उनको सुत्ने कोठाको भित्तामा ‘डिज्नी’ का चरित्रको तस्बिर थिएन। बरू त्यहाँ चे ग्वेभारा र हो ची मिन्हका तस्बिरहरू थिए। वर्षौँसम्म उनले प्रारम्भिक कक्षा अध्ययन गर्न पाएनन्। उनको परिवारका भ्रमणमा मार्सम्यालो खान पाइदैनथ्यो। कम्तीमा एक पटक योजनाबद्ध ‘जेलब्रेक’का लागि सङ्घीय कारागरको निगरानी गर्न उनीहरूले भ्रमण गरेका थिए। आमाबाबु दुवै खोजीसूचीमा जेड जन्मिँदा उनकी आमा बर्नार्डिन डोरेन अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो ‘एफबीआई’को सर्वाधिक खोजीमा रहेकी अभियुक्त थिइन्। उनी अतिवादी युद्धविरोधी संस्था ‘वेदर अन्डरग्राउन्ड’की सदस्य थिइन्, जसले अमेरिकामा विभेद र जातीय अन्यायको मुद्दा उठाउन अति महत्त्वका सरकारी परिसरहरू जस्तै क्यापिटल, पेन्टागन र अमेरिकी विदेश मन्त्रालयलाई शृङ्खलाबद्ध बम आक्रमणको निशाना बनाएको थियो। उनका पिता बिल आयर्स उक्त समूहका सहसंस्थापक थिए। त्यसको परिणामस्वरूप उक्त परिवार पहिचान लुकाएर बसोबास गर्थ्यो। बारम्बार बासस्थान फेर्थ्यो र पक्राउ पर्ने जोखिमबारे निरन्तर सावधान रहन्थ्यो। जेडका लागि यो सामान्य जीवनको हिस्सा थियो। “मलाई थाहा थियो, एफबीआईले हामीलाई खोजिरहेका छन्। उहाँहरूले मलाई त्यसबारे कहिल्यै पनि झुटो बोल्नुभएन। बच्चाले बुझ्न सक्ने हिसाबले त्यसबारे बुझाउनुभयो। हामी धनीहरूबाट खोसेर गरिबहरूलाई बाँड्ने गैरकानुनी समूह थियौँ।” उनका दुवै अभिभावक सहज स्थितिमा रहेका श्वेत मध्यमवर्गीय पृष्ठभूमि भएको परिवारका सदस्य थिए। उनकी आमा यूनिभर्सिटी अफ शिकागोमा कानुन अध्यनरत जेहेन्दार विद्यार्थी थिइन्। तर सन् १९६६ मा मार्टिन लूथर किङ्ग उक्त सहरमा आएर अभियानकर्ताहरूको घरभाडासम्बन्धी हड्तालमा समर्थन जनाएसँगै उनी सक्रिय रूपमा अभियानमा सहभागी भइन्। त्यसले अमेरिकामा आमूल परिवर्तन आवश्यक रहेकोमा उनी विश्वस्त पनि भइन्। किङ्गको हत्या र त्यसपछिको गोली प्रहारमा ‘ब्ल्याक प्यान्थर’का नेता फ्रेड ह्याम्पटनमाथि प्रहरीको घातक गोली प्रहारले उनलाई थप उग्रवादी विचारधारातर्फ धकेल्यो। “मलाई लाग्छ मेरी आमा र उहाँजस्ता धेरै अन्य मानिसहरूलाई उक्त घटनाले अतिवादतर्फ धकेल्यो। उनी ह्याम्प्टनलाई एक जना साथी मात्र नभएर एक जना आदर्श ठान्थिन्। आफ्नै सरकारले उनको हत्या गरिदिएको थियो।” उनका पिता चाहिँ भियतनाम युद्ध र सैन्य भर्तीसम्बन्धी विषयका कारण उक्त समूहतर्फ आकर्षित भएका थिए। “त्यस बेला उहाँहरूको एउटा नारा थियो- ‘युद्धलाई घरमा ल्याऊ’। त्यो भन्नुको अर्थ भियतनाम युद्धको हिंसालाई ल्याएर अमेरिकाका सहरमा प्रदर्शन गरौँ ता कि मानिसहरूमा जागरूकता आओस् र उनीहरूले विदेशमा के गरिरहेका छन्, अश्वेतहरूलाई के गरिरहेका छन् र देशभित्रका नेताहरूलाई के गरिरहेका छन् भन्ने सबैले देखून् भन्ने थियो।” झोलामा बम अहिले हेर्दा मध्यम वर्गका विद्यार्थीहरूका साना समूहले भारी सुरक्षा कायम गरिएका अमेरिकाका कतिपय सरकारी भवनहरूमा सफलतापूर्वक बम हमला गर्न सक्छन् भन्ने सोच्नु अकल्पनीय जस्तो हुन्छ। तर जेडको धारणामा युवा उमेर, श्वेत वर्ण र शैक्षिक पृष्ठभूमिका कारण उक्त समूहले फाइदा उठायो। सहायक कर्मचारीको भूमिकामा महिलाहरू सरकारी भवनमा प्रवेश गर्थे र विभिन्न जानकारी सङ्कलन गर्थे। महिलाहरूको शौचालयजस्ता शङ्का नहुने ठाउँमा उनीहरू विस्फोटक सामाग्री लुकाएर राख्ने गर्थे। जेड भन्छन्, “उनीहरूलाई एउटा के लाभ थियो भने उनीहरूले कलेजमा शिक्षा लिएका थिए, राम्रोसँग कुरा गर्थे अनि शक्तिका त्यस्ता केन्द्रहरूबाट खासै ध्यान नखिचीकनै बाहिरिन सक्थे,” जेड भन्छन्। उक्त समूहलाई जातीय पृष्ठभूमिका कारण प्राप्त हुने लाभले पनि त्यसलाई ‘ब्ल्याक प्यान्थर’ पार्टीबाट अलग भएको समूह ‘ब्ल्याक लिबरेशन आर्मी’सँग गठबन्धन गर्न मद्दत पुर्‍याएको थियो। श्वेत अभियानकर्ताहरूले आफ्नो पहुँच र अरूको दृष्टिमा नपर्ने क्षमता अश्वेत अभियानकर्ताहरूलाई सघाउन प्रयोग गरेका थिए। जेलब्रेक र अन्य गैरकानुनी कदमपछि अपराधीहरूलाई भगाउने सवारीचालकको भूमिका उनीहरूले खेलेका थिए। भिन्न बाल्यकाल जेडको उमेर बढ्दै जाँदा परिवारको भूमिगत जीवनले उनको बाल्यकाललाई निर्धारण गर्दै गयो। औपचारिक कागजपत्र नभएकाले उनले विद्यालय जान पाएनन्। उनका अधिकांश साथीहरू अन्य अभियानकर्ताहरूका सन्तान थिए। उनका अधिकांश बाल्यकाल अन्य अमेरिकी बालबालिकाको जस्तै रह्यो। उनीहरूले पनि सडक यात्रा, पारिवारिक भ्रमण र क्याम्पिङलगायतका गतिविधि गरे। तर यस्ता गतिविधिमा पनि क्रान्तिकारी रङ्ग मिसिने गर्थ्यो। “हामीले कहिल्यै पनि डिज्नील्यान्ड वा अमेरिकी क्यापिटल वा अन्य त्यस्तो ठाउँको भ्रमण गरेनौँ। मेरा अभिभावकले मलाई क्रान्तिकारी सङ्घर्ष भएका ठाउँहरू घुमाउन लैजानुभयो। त्यस्ता ठाउँ, जहाँ उहाँहरूका नायकहरूले ज्यान गुमाएका थिए। जहाँ प्रहरीले फ्रेड ह्याम्पटनको हत्या गरेको थियो, जहाँ जोन ब्राउनलाई झुन्ड्याइएको थियो। त्यो ठाउँ जहाँ नेट टर्नरले दासप्रथाविरुद्ध विद्रोह गरेका थिए। त्यही भएर त्यो उहाँहरूले जेका विरुद्ध सङ्घर्ष गरिरहनुभएको थियो, ती ठाउँहरूको भ्रमण जस्तो थियो।” पछि उनले यस्तो पारिवारिक भ्रमणको उद्देश्य फरक रहेको पत्ता लगाइन्। एकपटक उनीहरूको क्याप रहेको स्थान ‘ब्ल्याक प्यान्थर’का सदस्यलाई नियन्त्रणमा राखिएको सङ्घीय जेलभन्दा एक किलोमिटरभन्दा कम दूरीमा थियो। उनका अभिभावकहरूले ती बन्दीलाई भगाउने सम्भावनाको प्रयासअन्तर्गत जेलको अध्ययनका लागि उक्त यात्रा गरेका थिए। आफ्ना अभिभावकले भौतिक क्षति रोक्न साँच्चिकै प्रयास गरेको बताएका जेडले विस्फोटनअघि चेतावनी दिइने गरिएका र मानिस नभएका समयमा खाली भवनहरूमा विस्फोटन गराइएको उनले सुनाए। तर कुनै पनि आन्दोलन हिंसात्मक बनिसकेपछि, क्षति टार्न नसकिने उनको भनाइ छ। उनका जन्म हुनुभन्दा अघि नै उनका पिताका तत्कालीन प्रेमिका र समूहका दुई सदस्यको बम बनाउने क्रममा ज्यान गएको थियो। बालककै रूपमा पनि उनले त्यसको जोखिम बुझेका थिए। “मलाई साँच्चै त्यसको चिन्ता थियो। मेरा कतिपय साथीहरूले आमाबुवा गुमाएका थिए। धेरै जनाका आमाबुवा लामो समयदेखि जेलमा नै थिए।” ‘गर्व गर्छु’ अहिले सन्तानका अभिभावक बनिसकेका जेडले वर्षौँदेखि आफ्ना अभिभावकहरूको रोजाइका बारेमा मन्थन गर्दै आएका छन्। उनी उनीहरूको त्यस बेलाको विचारधारालाई स्वैच्छिक रूपमा सेनामा भर्ना हुने मानिसहरूसँग तुलना गर्छन्। उनीहरूले आफ्नै सरकारविरूद्ध युद्ध छेडेको विश्वास गरेको र त्यसले व्यक्तिगत रूपमा आफूलाई पुर्‍याउन सक्ने असरलाई स्वीकार गर्ने इच्छा देखाएको उनले बताए। “धेरै तरिकाबाट म उहाँहरूलाई लिएर गर्व गर्छु। जुन बेलामा अमेरिकामा धेरै श्वेत व्यक्तिहरूले अन्यायलाई त्यसै भइरहन दिए र केही गरेनन्, मेरा अभिभावकहरूले केही गर्नुपर्छ भन्नेमा जोड दिनुभयो।” तर जेड आफू आफ्ना सन्तानलाई घरमा नै छाडेर बाहिर जाने र ब्याङ्कमा लुटपाट गर्ने वा जेल तोडेर कसैलाई भगाउने परिस्थितिको कल्पना गर्न पनि सङ्घर्ष गर्छन्। “तर मलाई लाग्छ त्यो स्वयंमा पनि एउटा मौका हो। मलाई लाग्छ विश्वमा धेरै मानिसहरू छन्, जसका सामु आफ्नो परिवारलाई जोखिममा पारेर पनि दमन वा अन्यायको विरूद्धमा सङ्घर्ष गर्नुको विकल्प छैन।” उनका भाइ जन्मिएपछि उनकी आमाले परिवारका लागि सामान्य जीवनको खोजी गर्दै एउटा सम्झौताअनुसार आत्मसमर्पण गरिन्। प्रारम्भिक अवस्थामा एफबीआईको अनुसन्धानमा प्रयोग भएका गैरकानुनी र अवैध उपायहरूका कारण उनलाई जेल सजाय भएन। तर पछि ‘वेदर अन्डरग्राउन्ड’ समूहका अन्य सदस्यबारे बयान नदिएपछि उनलाई लगभग एक वर्ष थुनामा राखियो। जेडका पितालाई भने जेड, उनका कान्छा भाइ र बन्दी बनाइएका अर्का अभियानकर्ताका सन्तानको स्याहारका लागि बाहिर बस्न दिइएको थियो। त्यस बेला पाँच वर्षको बालकका रूपमा जेड दुःखी र आक्रोशित थिए। उनी आफ्नी आमा घर फर्किएको हेर्न चाहन्थे। जेलबाट आमाले जेडलाई एउटा पत्र पठाएकी थिइन्, जुन अहिले पनि जेड बेलाबेला पढ्ने गर्छन्। “उहाँले आमा हुनु आफूलाई संसारकै सर्वाधिक महत्वपूर्ण कुरा भएको भन्ने गर्नुहुन्थ्यो। उहाँले आफ्ना लागि क्रान्तिकारी हुनु पनि संसारकै महत्वपूर्ण काम भएको कुरा गर्नुहुन्थ्यो।” उनले आफ्नी आमाले मार्टिन लूथर किङ्ग जूनियर र फ्रेड ह्याम्पटन, म्याल्कम एक्सजस्ता मानिसहरू उल्लेख गर्दै उनीहरूले निश्चित कारणका लागि लडेको र उनीहरूका पनि सन्तान रहेको बताएको उल्लेख गरे। हाल उनका दुवै अभिभावकहरू ८० वर्ष नाघिसकेका छन्। जेड उनीहरू ‘असाध्यै राम्रा हजुरबुवा र हजुरआमा’ रहेको उल्लेख गर्दै उमेरले उनीहरूको राजनीतिलाई नरम बनाएको प्रसङ्ग ल्याउँदा हाँस्ने गर्छन्। भूमिगत समूह छाडेपछि उनकी आमा कानुनकी प्राध्यापक भइन् र उनले चार दशकसम्म कानुनी परामर्श दिने क्लिनिक सञ्चालन गरिन्। उनले असमान फौजदारी न्यायप्रणालीका कारण पीडित भएको भन्दै आफूले विश्वास गरेका व्यक्तिहरूलाई कानुनी सेवा उपलब्ध गराइन्। उनका पिता पनि प्राध्यापक बने र उनले आफूलाई सार्वजनिक शिक्षाको सुधारमा समर्पित गरे। उनीहरूले आफ्नो विधि नै परिवर्तन गरे। तर आफ्नो विश्वास डगमगाएनन्। “कसैले उनीहरूलाई मध्यमार्गी वा उदारवादी भन्दा उहाँहरू अपमानित महसुस गर्नुहुन्थ्यो।” यो लेख बीबीसी वर्ल्ड सर्भिसको ‘आउटलुक’ कार्यक्रमको ‘अमेरिकाज मस्ट वान्टेड : माई फ्याम्ली अन द रन’ नामक एपिसोडबाट तयार गरिएको हो।