Skip to main content

ककरोच पार्टीको प्रदर्शनमा दीपकेले महात्मा गान्धीदेखि अम्बेडकरसम्मलाई सम्झिए

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको विरोधमा शुक्रबार ककरोच जनता पार्टी (सीजेपी)ले मुम्बईको शिवाजी पार्क नजिक प्रदर्शन गरेको छ। प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दीपकेले सम्बोधन पनि गरेका थिए। सम्बोधनका क्रममा दीपकेले महात्मा गान्धी, भीम राव अम्बेडकरदेखि जवाहरलाल नेहरूसम्मलाई सम्झिए। ‘यदि गान्धी यो देशको आत्मा हुन् भने अम्बेडकर यस देशको मेरुदण्ड हुन्,’ दीपकेले भने, ‘डा. बाबासाहेब अम्बेडकर र नेहरूहरूले हामीलाई मतदान गर्ने अधिकार दिएका हुन्।’

प्रदर्शनमा अभिनत्री शबाना आजमीसहित मुम्बईका विभिन्न कलाकारहरू, अभिजित दीपके, सौरभ दास र अजिंक्य शिन्दे सहभागी थिए। सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै २ अक्टोबर अर्थात् गान्धी जयन्तीको अवसरमा मुम्बईमा प्रदर्शनको आह्वान गरेको थियो। पार्टीका अनुसार एसआईआर प्रक्रिया र निर्वाचन प्रक्रियामा भएका भनिएका अनियमितताविरुद्ध जनचेतना फैलाउन प्रदर्शन गरिएको हो। यसअघि यही विषयमा शुक्रबार बिहान दिल्लीको जन्तरमन्तरमा पनि विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आवद्ध मानिसहरू भेला भएका थिए। यद्यपि, दिल्ली प्रहरीले मुख्य जन्तरमन्तरमा प्रदर्शनका लागि अनुमति दिन अस्वीकृत गरेको थियो। नयाँ दिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू गरिएको थियो।