Skip to main content

नाइजेरियामा सशस्त्र आक्रमणमा १७ जनाको मृत्यु

२१ असोज, गुसाउ (नाइजेरिया) (रासस/एएफपी) — उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानी क्षेत्रमा तथा गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले मारू जिल्लाको बिन्दिन गाउँ बाहिर रहेको खानीमा गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको बताइएको छ। त्यसपछि गाउँ प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा १२ सुरक्षाकर्मीहरूले ज्यान गुमाएका थिए।

स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै, गिरोहले खानी मजदुरहरूलाई धम्की दिएका कारण कारबाही गरेको बताए। आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीसँग भने, स्थानीय गिरोहका एक नेताको योजनामा उक्त आक्रमण भएको हो। उत्तरपश्चिम र मध्य नाइजेरियाका ग्रामीण समुदायहरू वर्षौंदेखि डाकु गिरोहको हिंसाबाट प्रभावित भएका छन्। गिरोहले गाउँहरूमा आक्रमण, बासिन्दाको अपहरण र घर लुटेर जलाउने कार्य गर्ने गरेका छन्। अनौपचारिक सुन खानी क्षेत्रका मजदुरहरूलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउँदै आएको छ, कामदारमाथि हमला गरि खानीस्थलको नियन्त्रण र सुनको हिस्साका लागि दबाब दिने गरेको छ।

घटनाबारे प्रतिक्रिया माग्दा सेनाबाट तत्काल जवाफ प्राप्त नभएको पनि जनाइएको छ।