इरानी राष्ट्रपतिले पुटिनलाई भने– अमेरिकासँग शान्ति सम्झौता सम्भव छ

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी–इजरायली युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन्। फार्स समाचार संस्थाका अनुसार पेजेस्कियनले सो फोनवार्तामा अमेरिकासँगको शान्ति सम्झौता सम्भव रहेको बताएका छन्। ‘यो क्षेत्रमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्ने सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्न इरान पूर्ण रूपमा तयार छ,’ फोनवार्तामा पेजेस्कियनले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको राष्ट्रिय हित र अधिकार हो। यदि अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी संरचनाको पालना गर्छ भने सम्झौतामा पुग्नु असम्भव छैन।’
राष्ट्रपति पेजेस्कियनले क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न इरान आफ्ना छिमेकी मुलुकहरूसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन्। उनले क्षेत्रबाहिरका मुलुकको उपस्थिति वा हस्तक्षेप आवश्यक नरहेको धारणा राखे। यसैबीच, पुटिनले अमेरिका र इजरायलले युद्धको क्षतिपूर्ति तिर्नुपर्ने र भविष्यमा यस्ता आक्रमण दोहोरिन नदिन इरानलाई दीर्घकालीन सुरक्षा प्रत्याभूति दिनुपर्ने आवश्यकतामा जोड दिएको फार्स न्युजले जनाएको छ।






